झापा , भदौ २३ । झापामा समुदायसँगै स्वास्थ्य संस्थामा काम गर्ने ब्यक्तिहरुमा कोरोना संक्रमण फैलिदै गएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा काम गर्ने एक चिकित्सकसहित १२ जनामा संक्रमण देखिएको दुई दिनपछि स्वास्थ्य संस्थामा काम गर्ने तीनजना आज संक्रमित भएका हुन् ।

संक्रमित हुनेमा शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका छन् । शिवसताक्षी नगरपालिकामा स्वास्थ्य शाखा हेर्ने प्रमुखलाई संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । त्यस्तै शिवसताक्षी ६ शिवगञ्ज घर भएकी एनआइसी एसिया बैंक बिर्तामोडकी महिला कर्मचारीको घरका ३ जना सदस्यलाई पनि संक्रमण देखिएको इजमले बताए । २४ वर्षिया ती महिला कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएको थियो । त्यस्तै दमकको एक अस्पतालमा काम गर्ने दुई कर्मचारीलाई पनि संक्रमण देखिएको छ । निजी अस्पतालमा सरसफाइको काम गर्ने दुई महिला कर्मचारीलाई संक्रमण देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । त्यस्तै मजदुरी , होटल व्यवसाय गर्ने वडा नं ९ का दुईजना र वडा नं १ का एकजना गरी तीन स्थानीयमा पनि संक्रमण देखिएको भट्टराईले जानकारी दिए । त्यस्तै बिर्तामोड नगरपालिकामा दुईजनामा संक्रमण देखिएको छ । एकजना स्थानीय रहेका छन् भने अर्का भारतबाट फर्केका ब्यक्ति हुन् । बिर्तामोड ४ की ५२ वर्षिया पूर्व महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बताए । संक्रमण देखिएपछि ती महिला होम आइसोलेसनमा बसेकी छन् । त्यस्तै भारतबाट फर्केका बिर्तामोड ९का ३० वर्षिय पुरुष पनि संक्रमित भएका छन् । आजै बाह्रदशी गाउँपालिका ५ का २८ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । उनी भरतपुर क्यान्सर अस्पतालबाट फर्किएका थिए । त्यसैगरी गौरीगञ्ज गाउँपालिका वडा नं १ का एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ । उनीहरु भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । आज जिल्लाका १४ जनामा संक्रमण देखिएको हो । जसमध्ये ७ महिला र ७ पुरुष छन् । योसँगै जिल्लामा संक्रमितको सँख्या ६९४ पुगेको छ । त्यसमध्ये ५१३ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्