झापा , भदौ २३ ।झापा भद्रपुर नगरपालिका –३ की जमुना राजवंशीले धानमा बाला लाग्न थाले पनि युरिया मल लगाउन पाइनन् ।

राजवंशीले २ विगाह जग्गा भाडामा लिएर धान खेती गरेकी छन् । “धान गोडमेलको समय सकिएर बाला लाग्न थालेपनि मल पाइएन” राजवंशीले भनिन्, “बाला राम्रोसँग लागेको छैन, गत वर्षको तुलनामा यस वर्ष उत्पादन आधा घट्ने देखिन्छ ।” बाला लागेको धानसमेत पहेँलिन थालेको राजवंशी बताउँछिन् ।
यस वर्ष जग्गाको ठेक्का बुझाउनसमेत नसक्ने अवस्था आएको राजवंशीले सुनाइन् । “धान लगाउँदाको ऋण तिर्नै बाँकी छ, उत्पादन कम हुने भएपछि ठेक्का बुझाउने पैसा पुग्दैन” राजवंशीले भनिन् ।
झापा भद्रपुर नगरपालिका –३का ७८ बर्षिय जसबहादुर राईले १ विगाह १६ कठ्ठामा धान लगाएका छन् । श्रीमतीको सहयोगमा धान खेती गर्दै आएका राईले जग्गाधनीसँग उब्जनीको आधा धान दिने (अधिया) सहमति गरेका थिए । “धानले बाला लगाउन शुरु ग¥यो मल छैन” राईले भने, “बल हुनेहरुले भारतीय बजारबाट मल ल्याएर लगाए, हामीलाई त भारतीय बजारसम्म जाने आँट नै आएन ।” सरकारले मल उपलब्ध गराउन नसकेपछि स्थानीय कृषकले भारतीय बजारबाट मल ल्याएर लगाए । भारतीय बजारबाट ल्याएको मल महंगो भएर पनि आफूले नलगाएको राई बताउँछन् ।

बाला लागेपछि युरिया आवश्यक हुँदैन –धानबाली विज्ञ
सरकारले धानका लागि भन्दै बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया सापटीमा ल्याउने टुंगो लगाइसकेको छ । मलको ठेक्का पाएका ठेकेदारले मल ल्याउन ढिला गरेसँगै बंगलादेशसँग सापटी युरिया ल्याउने प्रक्रिया अगाडी बढाए पनि धानले बाला लगाइसकेपछि लगाएको युरियाले कामै नगर्ने वरिष्ठ धानबाली विज्ञ भोलामान सिंह बस्नेत बताउँछन् । “एक पटकको धानबालीमा १ हेक्टरलाई १ सय किलो नाइट्रोजन, २० किलो फस्पोरस र ३० किलो पोटास आवश्यक हुन्छ” धानबाली विज्ञ बस्नेतले भने, “युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ, सोही कारण धानले उत्पादन शुरु गर्ने बेलासम्म २ पटक युरिया आवश्यक हुन्छ ।” पहिलो पटक धान रोपेको २० देखि ३५ दिन भित्रमा र दोस्रो पटक ४०देखि ५० दिन भित्रमा युरिया लगाइसक्नु पर्ने भएपनि यस वर्ष उक्त समयमा युरिया मल नपाइएकाले अब भित्र्याइने मल धानबालीका लागि आवश्यक नहुने बस्नेतको भनाई छ । “कृषकले धान लगाएको ५० दिन कटिसकेको छ” बस्नेत भन्छन्, “अब मल लगाएर उत्पादन बढ्ने होइन, सरकारले आयात गर्ने भनिएको मल आलु, गहुँका लागि मात्र उपयोगी हुन्छ ।”
मल अभावले यस वर्ष उत्पादनमा समेत ह्रास आउने बस्नेत बताउँछन् । “यस वर्ष औषत वर्षा हुन्छ भनेर मौसमविद्ले पूर्वानुमानसमेत गरेका थिए” बस्नेतले भने, “सोही अनुसार वर्षाले त साथ दियो, तर, मल अभाव टरेन ।” धानको उत्पादन वृद्धिको लागि युरिया मल अत्यावश्यक रहेको बस्नेतको भनाई छ । नार्कले दीर्घकालिन मलखाद परीक्षणमा गरेको अनुसन्धानबाट १ हेक्टर धानलाई १ सय किलो नाइट्रोजन आवश्यक हुने देखिएको छ । “त्यसका लागि युरिया मल र प्राङगारिक मल ५०÷५० प्रतिशत लगाउन सकेमात्र उत्पादन राम्रो हुन्छ” बस्नेतले भने, “प्राङगारिक मलमा कम मात्रमा नाइट्रोजन हुनाले युरिया अत्यावश्यकमा पर्छ ।” घट्दो खेतीयोग्य जमिनबाट बढ्दो जनसंख्यालाई खुवाउन र आयआर्जन बढाउन प्रविधि र विज्ञानमा आधारित खेती जरुरी रहेको बस्नेतको तर्क छ ।
अहिले कोरोना महामारीको समयमा समेत कृषक मलका लागि भौतारिरहेका छन् । झापाको कनकाई नगरपालिकाका घनश्याम प्रसाईँ कृषकहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताउँछन् । धानले उत्पादन दिने बेलासम्म मल नपाएको उनको गुनासो छ । आ.ब २०७५÷७६मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै अर्थात् ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस यता आ.ब २०७६÷७७मा ५५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । प्रारम्भिक चरणमा आएको वर्षाले यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै उत्पादन हुने अनुमान लगाइए पनि मल अभावले उत्पादन घट्ने कृषि विज्ञको भनाई छ । साथै केही स्थानमा किराले पनि धानबाली बिगारिदिएकाले उत्पादनमा कमी आउने देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्