भद्रपुर , भदौ २४ । एउटा सानो विकास निर्माणले कति परिवर्तन गर्दो रहेछ भन्ने कुरा काँकरभिट्टास्थित मेची पुल र एसियन हाइवेको एप्रोच सडकलाई हेर्दा प्रष्ट हुन्छ ।

मेची पुल

सामान्यतया नेपाल सरकारबाट निर्माण सुरू भएका कुनै पनि संरचना १० वर्ष अगाडि पूरा भएको तथ्य भेटिदैन ।तर, ३ वर्ष अगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेन क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकरभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै छ । सहज वातावरणपश्चात् सो पुल चल्दा व्यापारिक कारोवारमा निकै परिवर्तन आउने छ । जसले पूर्वी नेपालको समृद्धिमा एउटा ईटा थप्ने निश्चित छ ।
२०७४ सालबाट औपचारिक रूपमा काम सुरू भएको काँकरभिट्टास्थित मेची पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको लागि सम्झौता गरेपछि निर्माण सुरू भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भएको हो ।
६ लेन चौडाइ क्षमताको सो पुल ६ सय ७५ मिटर लामो रहेको छ । पुलमाथिको काम लगभग सकिएपनि एसियन हाइवेअन्तर्गत डेढ किलोमिटर एप्रोच सडक निर्माणको कार्य अन्तिम चरण पुगेको जनाइएको छ । पुल र सडकको सम्बन्ध जोडिएयता नेपाल भारत प्रवेशद्वार काँकडभिट्टा पुग्दा नौलो ठाउँको अनुभूति हुन थालेको छ ।

एसियन हाइवे

सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकडभिट्टा पानीट्यांकी सडकलाई नयाँ पुलले काँचुली फेरिदिएको छ । ५ सय मिटर पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनिएको फराकिलो र चिटिक्क परेको सडक सवैको आकर्षणको केन्द्र बनेको छ । यसबीचमा निर्माण पक्षले पुलदेखि काँकडभिट्टा बसपार्क क्षेत्रसम्म चार लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न गरेको छ । साँझको समयमा बाटो वरिपरि राखिएका बत्तीले मनोरम दृष्य देखिने स्थानीयको भनाइ छ । नयाँ पुलसँगै काँकडभिट्टा क्षेत्रको संरचनात्मक काँचुली फेरिएको छ ।
एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँमा निर्माण भएको पुलले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो सहयोग पुग्ने झापाका उद्योगी व्यवसायीहरूको अपेक्षा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्