शिजगञ्ज, भदौ २६ । कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले यस वर्ष ७८ वटा रैथाने जातका धान लगाएको छ ।

शिवसताक्षी नगरपालिका ७ चन्द्रडाँगीमा रहेको संस्थाले रैथाने जातका धान नष्ट हुन नदिन त्यसको खेतीलाई निरन्तरता दिएको हो । यस वर्ष दुई कठ्ठा जग्गा लिजमा लिएर ७८ किसिमका रैथाने धान लगाएको संस्थाकी उपाध्यक्ष नरमाया कार्कीले बताइन् । उनले विभिन्न ८० प्रकारका रैथाने जातका धानको बीउ खोजेर ल्याइएकोमा ७८ प्रकारका धानको खेतीलाई यस वर्ष निरन्तरता दिएको जानकारी दिइन् । संस्थाले स्थानीय किसानहरुलाई तालिम दिएपछि धानको बीउ दिने गरेको र किसानले त्यही बीउबाट फलाएको धानलाई खरिद गरी अन्य किसानलाई बिक्री गर्ने गरेको कार्कीले बताईन् ।गत वर्ष समितिले २१ सय मन धान बीऊ बिक्री गरेको थियो । संस्थाबाट बीउ लिएर ३५ जना किसानले खेती गरेका छन् । रैथाने जातका धानको बीउ संरक्षणमा लागेको संस्थाले लगाएको धान खेतीको आज संघीय साँसद एलपी साँवा , प्रदेश साँसद झलकसिँह दर्लामी , वडाध्यक्ष नवीन इजमलगायतले अवलोकन गरेका थिए । साँसदहरुले रैथाने धानको बीउ संरक्षणमा लागेको संस्थाको अभियानको प्रशंसा गरेका थिए । त्यस अवसरमा उत्कृष्ट ३५ जना किसानलाई पुरस्कारस्वरुप त्रिपाल वितरण गरिएको संस्थाका अध्यक्ष डिल्ली पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्