झापा, भदौ २७ ।
कला र गला दुवै छ । गायनको अनुभव पनि छ । केवल पाएकी छैनन् हौसला र सहयोग । जन्मेदेखि युवा अवस्थासम्म हन्डरै हन्डर खानु पर्ने कलाकार पुष्पा परणामी कार्कीको नियति बनिसकेको हो कि !


उमेरले २० वर्ष टेकेकी पुष्पा झापाली संगीतप्रेमीका लागि नौलो नाम होइन । सानै उमेरदेखि संगीतमा साधनारत उनी आफ्नो पहिचान बनाउन विगत ५ वर्षदेखि संघर्षरत रहेकी छन् । तर, कसैको पनि साथ सहयोग र हौसला नपाउँदा कलाकार बन्ने उनको सपना अधुरै रहने देखिएको छ । ‘ म के गरुँ , कसलाई भनुँ ’ आफ्नो भविष्यप्रति पुष्पा चिन्तित देखिएकी छन् ।

इलामको बरबोटेमा जन्मिएर बिर्तामोडमा बस्दै आएकी पुष्पाको आत्मकथा अत्यन्त मर्मस्पर्शी रहेको छ ।गुरुकुलमा पालनपोषण भएर त्यहीँबाट संगीत आरम्भ गरेकी उनले रहर मात्र पुरा गर्न खोजेकी छैनन् , संगीतलाई नै जीवन बनाउने लक्ष्य छ । ‘ मेरो लाइफ नै म्यूजिक हो ’ उनी भन्छिन् ,‘ तर, संगीतमा जम्न मैले कसैको सपोर्ट र हौसला पाइनँ ।’

खासगरी आधुनिक र भजन गाउन रुचाउने उनले धेरै स्टेज प्रोग्राम गरिसकेकी छन् । टंक बुढाथोकी , श्रीकृष्ण लुइटेल, राजु अधिकारी , भानु ओली, कविता शिवाकोटी , पुष्पन प्रधानजस्ता कलाकारसँग उनले गीत गाएकी छन् । शुरुमा एक्लै र पछि ब्याण्डमा गाएको अनुभव उनीसँग छ । त्यसैगरी उनले केही सर्टमूभिमा अभिनय पनि गरेकी छन् । संगीतलाई पेशाकै रुपमा अगाडि बढाउने सोचले उनी बारमा गएर गीत गाउँथिन् । त्योसँगै संगीत सिकाइलाई पनि उनले जारी राखेकी थिइन् । सिक्दै गाउँदै गरेकी ती कलाकार अहिले चुप लागेर बस्न बाध्य छिन् । न उनले कही गएर गाउने ठाउँ छ , न सिक्ने ठाउँ नै । रियाज गर्नका लागि उनीसँग बाजागाजा पनि छैन । त्यसका लागि उनले अगरबत्ती बिक्री गर्ने काम शुरु गरेकी छन् । ‘ सिकेको पनि बिर्सिन लागिसकेँ ’ उनी भन्छिन् ,‘ रियाज गर्नका लागि मसँग हार्मोनी , गिटार केही पनि छैन ।’ काम गरेको पैसाले ती सामान जोड्ने उनले बताइन् । एकजना गीतकारले शब्द रचना लेखेर सहयोग गर्दा पनि खर्चको अभावमा एल्बम निकाल्न नसकेको उनले समस्या सुनाइन् ।

पुष्पासँगै संगीत सिक्नेहरुले नाम दामसहित चर्चामा छन् । तर, आफूले कसैको सहयोग नपाएरै केही गर्न नसकेको ओझेलमा परेकी उनले दुखेसो राखिन् ।‘ मलाई कसैको पनि सपोर्ट छैन ’ पुष्पा भन्छिन् ,‘ त्यसकारण चाहेर पनि गर्न सकेकी छैन ।’ संगीतको लागि वरदानजस्तै पाएकी पुष्पाले हौसला चाहिँ नपाएको स्थानीय नानु पंगेनीको बुझाइ छ । ‘ मनकारीहरुले हौसला र टेवा दिन सक्यौं भने उसको भविष्य उज्वल छ ’ पुष्पालाई सहयोग गर्दै आएकी नानु भन्छिन् ,‘ उनको सीप र परिश्रमलाई खेर जान दिनु हुन्न ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्