झापा, भदौ २७ । अबैध लागु पदार्थसहित आज झापामा ६ जना पक्राउ परेका छन् । पाँचजना ब्राउन सुगर र एकजना गाजासहित पक्राउ परेका हुन् ।

आज दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नं.१३ स्थित ईलाम रोडमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले वडा नं.१० बस्ने १८ वर्षिय बिशाल लिम्बु र वडा नं. १२ बस्ने २३ वर्षिय राजन श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरुले चलाईरहेको मे४प ७७२६ नं.को मोटरसाईकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने मिसाईलो पदार्थ ८.५ ग्राम बरामद गरी दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा इप्रका धुलाबारीमा ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आज दिउँसो ४ बजे बिर्तामोड नगरपालिका वडा नं.१ स्थित अधुवा पुल छेउमा लागूऔषधको कारोबार भैरहेको भन्ने बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा संदिप धिमाल, आकाश राई र आशिष राईलाई पक्राउ गरेको छ । उनीहरुलाई चेकजाँच गर्दा संदिप धिमालको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ प्लाष्टिक सहित १४ ग्राम ८१० मिलिग्राम बरामद गरी तिनै जनालाई इप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आजै अबैध चार किलो गाजासहित दमकमा एकजना पक्राउ परेका थिए ।
इलाम माङ्सेबुङ गाउँपालिका ६ घर भई दमक १ मामा चोकस्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्ने २६ वर्षिय अर्पण राई पक्राउ परेका हुन् । लुकाई छिपाई राखी बेचबिखन गर्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामा रहेको काठको पलङमा झोलामा राखेको प्रतिबन्धित ४ केजी ५८ ग्राम गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्