बिर्तामोड, भदौ २८ ।
साहित्य चौतारी झापाले झापा मेचीनगर –९ धुलावारीका अग्रज साहित्यकार तेजराज खतिवडा (तेराख)लाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरेको छ ।
नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको कदर गर्दै अग्रज साहित्यकार तेराखलाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।


कोरोना भाइरसको संक्रमणबाट वच्न भौतिक दुरी कायम गरी झापा मेचीनगर –९ धुलावारीस्थित निवासमै गएर अग्रज साहित्यकार तेराखलाई सम्मान गरिएको उनले बताए । साहित्य चौतारी झापाका सल्लाहकार हस्त परियारको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतमले स्वागत गरेका थिए । कार्यक्रममा अग्रज साहित्यकार तेराखको परिचय साहित्य चौतारी झापाका सल्लाहकार कृष्णप्रसाद पौडेलले गराएका थिए ।

उनले झापाको मेचीनगर नगरपालिका –९ धुलावारीमा रहेर अग्रज साहित्यकार तेराखले २० वटा कृतिहरु प्रकाशित गरिसकेको र आधादर्जन भन्दा बढी कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी गराएका थिए । साहित्य चौतारी झापाका सदस्य देवीचरण भण्डारीले बाचन गरेको सम्मान पत्र साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईलगायतले अग्रज साहित्यकार तेराखलाई प्रदान गरेका थिए । अग्रज साहित्यकार तेराखलाई सम्मानपत्रसहित दोसल्ला, खादा, नेपाली टोपी र नगदसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले अग्रज साहित्यकार तेराखले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै साहित्य चौतारी झापाले अग्रज स्रष्टाहरुको उचित मूल्यांकन गरेर सम्मान गरेकोमा खुशी व्यक्त गरेकी थिइन् । कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पु¥र्याएको योगदानको कदर गर्दै अग्रज साहित्यकार तेराखलाई सम्मान गरिएको बताए ।

साहित्य चौतारी झापाका संस्थापक सल्लाहकार समेत रहेका अग्रज साहित्यकार तेराखको उपन्यास रातको बाह्रबजे २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको प्रथम वार्षिकोत्सवमा विमोचन गरिएको उनले बताए । अग्रज साहित्यकार तेराखले साहित्य चौतारी झापाको प्रत्येक वार्षिकोत्सवमा उपस्थित भएर शुभकामना दिएर हौसला प्रदान गर्ने गरेको बताउँदै साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले साहित्य चौतारी झापाको अभिभावकत्व ग्रहण गरेकोले साहित्य चौतारी झापाको श्रीवृद्धिमा अग्रज साहित्यकार तेराखले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

कार्यक्रममा सम्मानित स्रष्टा अग्रज साहित्यकार तेराखले जीवनका अनुभव र अनुभूतिहरुलाई संक्षेपमा उल्लेख गर्दै स्रष्टाहरुको उचित मुल्यांकन गरेर सम्मान गर्ने कार्यले पछिल्लो पीँढीलाई पनि जागरुक बनाउने बताए । उनले साहित्य चौतारी झापाले आफूलाई सम्मान गरेर साहित्यको क्षेत्रमा लाग्न अझ हौसला र प्रेरणा दिएको बताउँदै अस्वस्थ्य अवस्थामा पनि आफूलाई सम्झिएकोमा साहित्य चौतारी झापालाई धन्यवाद दिएका थिए । कार्यक्रममा साहित्य चौतारी झापाका पूर्व सम्मानित स्रष्टा फुर्वा योञ्जन, अनिरुद्र सिटौला,पूर्व सदस्य साहित्यकार विनोद खनाल, लोकगायक भानु ओली, कुमार श्रेष्ठलगायतले अग्रज साहित्यकार तेराखको दीर्घजीवनको कामना गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्