बिर्तामोड , भदौ २९ । पुरातत्व विभागले बिर्तामोड नगरपालिका ३ स्थित दुर्गा मन्दिर सार्नका लागि नरोकेको मन्दिर निर्माण समितिले जनाएको छ ।

हालको मन्दिर

पुरानो मन्दिरलाई नमास्न भन्ने निर्देशनसहितको पत्र पुरातत्व विभागले पठाएको समितिले स्पष्ट पारेको छ । मन्दिर निर्माण समितिका अध्यक्ष पर्शुराम सिटौलाले पुरातात्विक महत्व भएको त्यस मन्दिरलाई मास्न लागेको गलत उजुरी परेपछि विभागले पत्र पठाएको बताए । उनले त्यस मन्दिरलाई नमासी सार्न मात्र लागेको कुरा बुझिदिन सबैसँग आग्रह गरे । बिर्तामोड–चन्द्रगढी सडक खण्ड निर्माण थालिएसँगै साविक मन्दिर बाटोभित्र परेपछि त्यसलाई केही पूर्वपट्टि सार्न लागिएको हो । बुद्ध जयन्तीको अवसर पारेर गत बैशाख २५ गते बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका थिए ।

निर्माणाधिन मन्दिर

मन्दिरलाई सार्नका लागि नयाँ मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मन्दिर निर्माणको काम सकिन अब थोरै मात्र बाँकी रहेको समितिका अध्यक्ष सिटौलाले बताए । ‘ टायल र मार्वलको काम मात्र बाँकी छ ’ उनले भने , रंगरोकन भएपछि सार्न सकिने छ ।’ आउँदो दशैंको नौरथाका दिन पुजापाठसहित नयाँ मन्दिरमा पदस्थापन गर्ने कार्यक्रम रहेको उनले जनाए । बिर्तामोड नगरपालिकाले मन्दिर निर्माणका लागि साढे २७ लाख रुपैयाँको इस्टिमेट बनाएको थियो । त्यस इस्टिमेटभन्दा बढी खर्च भइसकेको छ । मन्दिर निर्माण सम्पन्न गर्दा करिव ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष सिटौलाले बताए ।
पुरातत्व विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले बिर्तामोड नगरपालिकालाई पठाएको पत्रमा दुर्गा मन्दिर बाटो बिस्तार गर्ने क्रममा हटाउन लागिएको जानकारी प्राप्त भएकाले सो कार्य तत्काल रोक्का राखी यथार्थ
विवरण पठाउन भनिएको छ । विभागको २०७७ भदौ २६ गतेको निर्णय अनुसार
बिर्तामोड नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिका–३ को वडा कार्यालयलाई समेत पत्राचार गरिएको छ । बिर्तामोड–भद्रपुर चार लेनको सडक निर्माणका क्रममा मन्दिर बीच बाटोमा पर्ने भएपछि मन्दिर सार्न लागिएको हो । मन्दिरको व्यवस्थापन गर्नका लागि सडक विभागले २३ लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्दिर सार्नु पर्ने र सार्न नहुने विवाद भइरहेपछि समयमा काम हुन नसकी सो वजेट फिर्ता गएको थियो । मन्दिरलाई व्यवस्थापन नगरेसम्म सडक नबनिने भएपछि नगरपालिकाले सहमति कायम गराई आफ्ने बजेटमा नयाँ मन्दिर निर्माणको काम शुरु गरेको थियो । त्यसप्रति असन्तुष्ट भएर केही स्थानीयले पुरातत्व विभागमा उजुरी हालेको निर्माण समितिले जनाएको छ ।

दुर्गा मन्दिरको इतिहास
झापाको पुरानोमध्येको एक शक्तिपीठका रुपमा बिर्ताबजारको दुर्गा मन्दिरलाई लिने गरिन्छ । जसको इतिहास सय वर्षभन्दा लामो छ । देवी गुठीको नाममा जग्गा दान दिएका डोमालाल राजवंशीका बुवाले सो दुर्गा मन्दिर स्थापना गरेको बुढापाका बताउँछन् । आफ्नो बुवाले स्थापना गरिदिएको मन्दिरलाई बुवाकै वचन अनुसार डोमालालले जग्गा दान दिएको बिर्ताबजारका ९५ वर्षिय बयोबृद्ध शम्भु पोखरेल बताउँछन् । उनले साइनोमा आफ्नो धर्मपुत्र पर्ने डोमालालले बुवाले वचन दिइसकेपछि आफूले जग्गा दान दिएको कुरा बताएको पोखरेल संझन्छन् । शुरुवाती अबस्थामा मन्दिर टीनको छानो भएको झुप्रो रहेको थियो । त्यसलाई कप्तान भूपालमानसिंह कार्कीले वि.सं. १९९५ सालमा पक्की बनाइदिएका थिए । भुपालमानसिंह कार्कीले मन्दिर बनाइदिएपछि आफ्ना बुवा गौरीशंकर पोखरेलले १९९८ देखि २००१ सम्म त्यस मन्दिरमा पुजापाठ गरेको शम्भुले बताए । त्यसपछि मधेसी मूलका पण्डितले पुरोत्याइ गरेका थिए । उनी गएपछि भीम दाहाल( दाहाल बाजे) ले लामो समय पुजापाठ गरेका थिए । २०२४ सालदेखि २०५५ सम्म दाहाल नै मन्दिर पुजारी रहेका थिए । पछिल्लो समय पुजा समिति मार्फत त्यस मन्दिरमा पुजाआजा हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्