गौरादह, भदौ २९ । पर्यटकीय संभावना बोकेको गौरादह ९ बैगुनधुरास्थित हात्तीडुव्वा सिमसार क्षेत्रलाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् ।

बर्षौदेखिको जलाशययुक्त हात्तीडुब्बा सिमसार क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न स्थानीय जुटेका हुन् । स्थानीयहरुले प्राकृतिकरुपले जलाशय रहेको सिमसारलाई विकास गर्न गुरुयोजना तयार गरी काम तीव्र बनाएका हुन् ।
तीन विघा क्षेत्रफलमा फैलिएको हात्तीडुब्बा सिमसारसहित संगै बस्दै आएका लोपोन्मुख सन्थाल वस्तीलाई नै समेटेर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न शुरु गरिएको हात्तीडुब्बा सिमसार तथा पर्यटकीय क्षेत्र विकास केन्द्रका अध्यक्ष चन्द्रबहादुर खड्काले वताए । सिमसार नगरपालिकाको रमणीय स्थानको रुपमा रहेकाले त्यसलाई पूरा गराउन स्थानीयहरू जुट्दै आएको उनले बताए ।
उनका अनुसार पर्यटकीयस्थलसंगै हात्तीडुब्बा सिमसार नजिकै बर्षोदेखि बस्दै आएका सन्थाल जातिको भाषा, संस्कृति, रहनसहन, खानपान, नाचगानलाई सांस्कृतिक पहिचानको रूपमा संग्रहित गरी सन्थाल जातिको अध्ययन केन्द्रको रूपमा विकास गर्ने प्रवल सम्भावना छ ।
त्यसैगरी सिमसार क्षेत्रको पूर्वतर्फ करिव १० विगाहा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिदै आएकाले पनि यस क्षेत्रको पर्यटकीय विकासमा सघाउँ पु¥याउने अध्यक्ष खड्का बताउँछन् । त्यहाँ मोरङ सुन्दरहरैचाका ३ जना कृषकले ५ वर्षका लागि लिजमा जग्गा लिएर व्यावसायिक केरा खेती गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न केराबारीले पनि सहयोग गर्ने छ ।
हात्तीडुव्वामा गौरादह नगरपालिकाले डिपिआर तयार गरी कामको शुरुवात गरिएको थियो ।त्यसपछि प्रदेश सरकारवाट गत बर्ष विनियोजित रु १० लाखको वजेटबाट दहको प्रारम्भिक योजनाका कामहरु गरिएका थिए । सो रकमबाट संस्थाले ३५– ३५ मिटरको दुईवटा ड्याम निर्माण गर्ने, माटो सम्याएर खाडीको आकार कायम गराउने र होलीभित्रको फोहोर , घाँस जंगल फाल्ने लगायतका काम गर्ने भनिएपनि सवै काम गर्न नसकिएको अध्यक्ष खड्काले बताए । विकासका अन्य कामजस्तै यस योजनाको काम पनि कोरोना भाइरसको महामारीले प्रभावित हुन पुगेको उनले जनाए । उक्त जलाशयका लागि २० लाख रूपैयाँ बजेट छुट्याएपनि ८ लाख १९ हजार ५ सय १५ रूपैयाँ बराबरको मात्र आन्तरिक रुपले कार्य गर्न सकिएको अध्यक्ष खड्काले बताए । चालु आर्थिक वर्ष २०७७ – ७८ मा पनि उक्त हात्तीडुब्बा जलाशयलाई विकास गर्न प्रदेश सरकारले थप २० लाख रूपैयाँ वजेट छुट्याएको छ । सो बजेटबाट संस्थाको दीर्घकालिन योजना अघि सारिएको सचिव नगेन्द्र बस्नेतले बताए ।
सिमसार क्षेत्रलाई थप आकर्षित बनाई आन्तरिक तथा वाह्य पर्यटकहरूको गन्तव्यस्थल बनाउन संस्थाको दीर्घकालिन योजनाअन्तर्गत स्थायी सम्पति व्यवस्थापन गरी होलीभित्रको थप जग्गा खरिद गर्ने, वनभोज केन्द्र (पिकनिक स्पोर्ट ) निर्माण गर्ने, उत्तरतर्फ एउटा प्रवेशद्वार ,दक्षिणतर्फ अर्को प्रवेशद्वार निर्माण गर्ने, उत्तर र दक्षिण दुवैतर्फ झोलुङ्गे पुल, धार्मिक पहिचान कायम राख्न पानीको मध्यभागमा पञ्चकन्या मन्दिर निर्माण गरी हात्तीडुब्बाको वास्तविक पहिचान दिलाउने गरी काम थाल्ने योजना रहेको सचिव बस्नेतले बताए ।
त्यस्तै,सिमसारको वास्तविक आकार कायम गराउने, खाडीको वाहिरी भागतर्फ घेरावारा गर्ने र सिमसारमा आकर्षणस्थल बनाउन तीन वटासम्म डुङ्गा खरिद गर्नेलगायतका योजना रहेका छन् ।
गौरादह ९ का वडाध्यक्ष सिताराम भट्टराईले नगरकै एकमात्र संभावना बोकेको प्राकृतिक जलाशययुक्त सिमसारलाई विकास गर्न स्थानीय सरकारले आवश्यक सहयोग पुर्याउने बताए । गौरादहलाई चिनाउन यस्ता प्राचीनस्थलको विकास गर्न सके आन्तरिक पर्यटन प्रवद्र्धनमा नै टेवा पुग्ने उनको जोड छ ।
यसैबीच आइतवार नै हात्तीडुब्बा सिमसार विकास केन्द्रको पहिलो साधारणसभाले पुनः चन्द्रबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
३ बर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा दिवसपति पोख्रेल,सचिवमा नगेन्द्र बस्नेत र कोषाध्यक्षमा राधा दाहाल चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्