गौरादह , भदौ २९ । करिव १० महिनाअघि गौरादह नगरपालिका परिसरमा ज्यान गुमाएका धनवीर राजवंशीको परिवारलाई नगरपालिकाले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध गराएको छ ।
गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह र उपप्रमुख गीता भेटवालले सोमबार मृतककी पत्नी पार्वती राजवंशीलाई संयुक्तरूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । राहत हस्तान्तरणमा पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।
गौरादह ८ भुँडीसिमलका ५८बर्षिय मृतक राजवंशीको गत असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएको वखत नगरपालिकाको मूल गेटमै बेहोस भई उपचार गर्न लाने क्रममा मृत्यु भएको थियो । राजवंशीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले बनाएको बैराती बजार टहरा निर्माण सम्पन्नपछि नियमानुसार रु ३ लाख भुक्तानीका लागि पटकपटक ताकेता गर्दा समेत नपाएका कारण मृत्यु भएको भन्दै पीडितसहित स्थानीय आन्दोलित थिए ।
मृत्यु भएपश्चात उनीहरूले क्षतिपूर्तिसहित ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए । त्यसवेला नगरपालिका र पीडित पक्षवीच घटनाप्रति क्षमयाचनासहित राजवंशीको परिवारलाई भरणपोषणका लागि राहतस्वरूप ५ लाख रूपैयाँ दिने र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने सहमति भएको थियो ।