मनिषा चम्लागाईँ ।

बिर्तामोड, भदौ ३१ । निरन्तरको वर्षाले झापामा यो वर्ष ७० प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ । झापाको गौरीगञ्ज, बुद्धशान्ति, अर्जुनधारा, कमल, बिर्तामोडलगायत क्षेत्रमा लगाइएको तरकारीमा वर्षाका कारण उत्पादनमा कमि आएको हो । विशेष गरी पछिल्लो समय बेमौसमी तरकारीले राम्रो बजार पाउने भएसँगै खेती बढ्दै गएपनि यो वर्ष अत्याधिक वर्षा भएका कारण विरुवा नै उत्पादन गर्न नसकेको किसान बताउँछन् । जसकारण तरकारीको मूल्य पनि अत्याधिक वृद्धि भएको छ ।


कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले यो वर्ष वर्षाले उत्पादन गर्न नसकेको भएता पनि यति नै क्षति भयो भन्ने गुनासो कृषकबाट नआएको बताए । झापामा गत वर्ष ५८ वटा व्लक मार्फत् तरकारीलगायत खेती हुँदै आएकोमा टनेल बाहेक खेती गर्ने कृषकले तरकारी उत्पादन गर्न नसकेको बताए । उनले वैदेशिक रोजगारीबाट फर्केर आफ्नै मुलुकमा केही गरौँ भन्ने उद्देश्य लिएका युवामा भने निरासा पैदा भएको जनाए ।

झापाको अर्जुनधारा नगरपालिकामा मामाभाञ्जा कृषि फर्म सञ्चालन गर्दै आएका निर्मल अधिकारी विरुवा उत्पादन हुन नसक्दा सिजनमा तरकारी उत्पादन गर्न कठिनाइ भएको बताउँछन् । “यो सिजन उत्पादन गरेको तरकारी मंहगो मूल्यमा बिक्री हुन्थ्यो” उनले भने, “उत्पादन गर्न नसक्दा सोचे अनुरुप आम्दानी नहुने भयो ।” फर्ममा हाल उनीहरुले २० विगाहमा तरकारी खेती गर्दै आएका छन् । यतिखेर बेडी, करेला, काँक्रा, कोपी, टमाटर, सिमी, क्याप्सिकोन, फर्सी लगायतका तरकारी लगाउने तयारी भएको थियो । तर, विरुवा उत्पादनमा ढुसीजन्य रोग लागेपछि समस्या भएको छ ।


बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाका अनुसार टनेल भित्रै पनि तापक्रम नमिल्दा विरुवा उत्पादन हुन नसकेको बताउँछन् । उनी भन्छन्, “यो वर्ष ७० प्रतिशत भन्दा बढी तरकारी उत्पादनमा गिरावट आउने छ ।” अत्याधिक वर्षाका कारण आउँदै गरेको चाडपर्वमा तरकारीको मूल्य थप आकसिने कडरिया बताउँछन् । झापाका अधिकांश कृषकले आफूले खानका लागि लगाएको तरकारीसमेत पानीले डुवाउ भएपछि बजारको भर पर्नु परेको छ ।
झापाको उपज बजार केन्द्रमा भारत र पहाडी जिल्लाबाट आयत भएका तरकारी मात्र बिक्री भइरहेको पाइएको छ । झापा लगायत तराई क्षेत्रमा उत्पादित तरकारी बजारमा नआएको स्थानीय व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्