भद्रपुर, असोज १ । जन्म दिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि १२ र ७ वर्षका नाबालिका छोरी बावुको सहारामा बसेका थिए तर, आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठूली छोरीलाई पटक–पटक करणी गरे । छोरीले सहन सकुञ्जेल कसैलाई भनिनन् । जब पटक–पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो । बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन् । साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो ।

प्रतिकात्मक तस्वीर

आफ्नै नाबालिका छोरीलाई बाबुले एक महिना यताबाट पटक–पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका १३ घर भई हाल बिर्तामोड नगरपालिका ८ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका ती आपराधिक प्रवृत्तिका बावुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले घट्ना भएकै राति नियन्त्रणमा लियो । बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया बहिनी बेसहारा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजी गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्वारा सञ्चालित भद्रपुर १० मा रहेको छहारी घरमा राखियो । छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालनपालन शुरू भयो । आरोपितविरुद्ध मुद्दा दर्ता गराइएको मानव अधिकारका लागि एकल महिला झापाकी संस्थापक अध्यक्ष अधिकारीले बताइन् । आमा पहिले नै घर छाडेर हिडेकी र पीडितको ७ वर्षिया बहिनी मात्र रहेकोले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् । एक दिन कोठामा रहेको भेन्टिलेसनबाट उनीहरु भागेछन् । भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । ‘बहिनीले भागुुम भनी अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ’ती १२ वर्षिया बालिकाले सुनाइन् ।
छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरीस्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थाका कर्मचारीलाई नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत बनाइएको उनले बताइन् । बसाई अवधिभरको खाना खर्च बिर्तामोड नगरपालिकाले दिएको उनको भनाइ छ । बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय बिर्तामोडको सिफारिसका आधारमा बालग्रामलाई दिने निर्णय भएपछि सो गरिएको उनले बताइन् । बालग्रामलाई जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो । आरोपितलाई भने पुर्पक्षका लागि झापा कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्