मदनकुमार अधिकारी,

यस्तो लाग्छ यो सामाजिक संजाल ’भ्रम पस्कने’ प्लेटफर्म नै बनिसकेको छ। बिगत २–३ दिनदेखि जनकपुर–जयनगर रेलको बिषयलाई लिएर असाध्यै भ्रमपूर्ण समाचार संप्रेषित भईरहेकोले,म स्वयं जनकपुरधामबासी भएको नाताले पनि यसबारे स्पष्ट गर्न आवश्यक ठानेको छु ।

अहिलेको रेल

भारतको जयनगरदेखि बाराको अमलेखगञ्जसम्म चल्ने यो रेलसेवा वि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो। प्रारम्भमा तात्कालिन बृटिश शासकले नेपाली जंगलको काठ ओसार्ने ध्येयका साथ यो रेल सेवा शुरू गरेको भएपनि पछिल्लो समय पूवी–दक्षिणी धनुषा तथा सिरहाका सर्वसाधारणलाई समेत जनकपुर पुग्ने प्रमुख साधन बनेको थियो।
तर,रेल्वेको इन्जिन,डब्बा तथा रेल्वे लिक समेत निकै जिर्ण हुँदै जाँदा रेलसेवा जयनगरदेखि जनकपुरसम्म मात्र सीमित हुन पुग्यो र पछिल्लो करिब एक दशकदेखि अन्ततोगत्वा बन्द नै भयो।
यो रेलसेवालाई ब्यवस्थित गर्दै ब्रोडगेज मोडेलमा सञ्चालन गर्ने बिषयमा नेपाल सरकार र भारतीय पक्षबीच आजभन्दा ११ बर्षअघि नै सम्झौता भएपनि कार्य सम्पन्न गर्न लामो समय लाग्यो।
सिमावर्ती भारतीय सहर नेपाली उपभोक्ताहरूकै कारण चलायमान हुने भएकाले यो रेल सेवा सिमावर्ती नेपालीलाई भन्दा सिमावर्ती भारतीय ब्यापारीको लागि बढी चासोको बिषय रहँदै आएको कुरा समेत बुझ्न आवश्यक छ ।

पुरानो रेल

अहिले सामाजिक संजालमा यो रेलको बिषयमा मिथ्या र भ्रामक सामग्री पस्केर देश र दुनियाँलाई भ्रमित गर्ने काम भएको देखेर म जनकपुरबासी नेपाली स्तब्ध हुन पुगेको छु। आमनेपाली भ्रमित नहुन् भन्ने सतत् ध्येयका साथ यो रेलसेवाको वास्तविक सत्य तथ्य पस्केको हुँ।
यो रेलसेवा कतिपय उरन्ठ्याउला छौंडा–छौंडीले भनेजस्तो न त प्रधानमन्त्री केपी ओलीको सपना,न त उनको योजना नै हो। बरू ओलीजीले हिन्द महासागरमा चलाउने पानीजहाज र पर्वतको कुश्मा स्टेसन बनाउँदै हुईंकिने चुच्चेरेल चाहिँ कहाँसम्म आईपुग्यो त्यो सोधिखोजी गरे भयो।
जनकपुर–जयनगर रेलसेवालाई “ओलीबा को सपना“ भनेर सारा दुनियाँ हँसाउने र हामी जनकपुरबासीलाई यातना दिने गोरखधन्दा कृपया बन्द गर्नुस् । सम्माननीय प्रधानमन्त्री केपी ओलीको योगदान चाहिँ के हो भने उनले रेलवेको महाप्रबन्धकमा गुरु भट्टराईलाई नियुक्त गरेका हुन् । यो नियुक्तिमा ओलीबाहेक कसैको योगदान छैन ।

(लेखक जनकपुरका पत्रकार हुन्।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्