बिर्तामोड असोज २ । छोटो तथा लामोदुरीका यातायात सञ्चालनमा आएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यातायात व्यवसायी तथा मजदुरलाई कोरोना भाइरसबाट बच्न सचेतना कार्याक्रम शुरु गरेको छ । कोरोना महामारीकै बीच यातायात क्षेत्र खुलेकाले यातायात सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड र आवश्यक सावधानीका उपायबारे व्यवसायी तथा मजदुरलाई प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उक्त कार्यक्रम जिल्लाभर सञ्चालन गरिने जवेगुले जनाए ।


शुक्रबार बिर्तामोडमा ट्राफिक कार्यालय झापा र बिर्ता जेसिजको संयुक्त आयोजनामा चालक प्रशिक्षण कार्याक्रम सम्पन्न भएको छ । कार्याक्रममा ५० जना चालकको सहभागिता रहेको बिर्ता जेसिजका अध्यक्ष मिजास पोखरेलले बताए । ट्राफिकले शुक्रबार नै प्रत्येक वर्ष मनाइदैँ आएको दुर्घटना न्यूनिकरण महाअभियानमा समेत चालकलाई दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिएको जवेगुले बताए । साथै सवारी साधानमा दुर्घटना न्यूनिकरण सम्बन्धि सवारी साधानमा पर्चा टाँसेको जनाइएको छ । चालक प्रशिक्षण कार्याक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको सहभागिता रहेको थियो ।


त्यस्तै, यातायात तथा ट्राफिक व्यवस्थापन समिति दमकले पनि शुक्रबार चालक प्रशिक्षण कार्याक्रम सम्पन्न गरेको छ । दमक क्षेत्रका ५० जना चालकलाई यातायात सञ्चालन गर्दा पालना गर्नुपर्ने नियमबारे प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

यातायात तथा ट्राफिक व्यवस्थापन समिति दमकका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा यातायात सञ्चालन गर्दा व्यवसायी र यात्रुले पालना गर्नुपर्ने नियमबारे सचेतना गराइएको प्रमुख पण्डितले जनाए । कार्यक्रममा कोरोना भाइरसको विषयमा दमकका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरीले सचेतना गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्