भद्रपुर, असोज २ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको माग सम्बन्धमा शिक्षा शाखा भद्रपुरको संयोजनमा भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

विद्यालय सञ्चालनमा आउनुपूर्व तीन महिनाको तलव भुक्तानीको एक सूत्रीय माग राखेर भदौ १७ गते प्याब्सन, एन.प्याब्सन तथा नगरमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम दिएर आन्दोलित युनियनको माग नेपालमै नभएको माग भन्दै प्याब्सन जिल्ला अध्यक्षले व्याख्या गरेपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो ।
वार्तामा नगर अध्यक्ष द्रोण अधिकारीले २०७७ बैशाखयता ३ महिनाको खाइपाई आएको तलव पाउनु पर्ने प्रस्ताव गरेपछि भद्रपुर नगर अध्यक्ष डिल्ली दुलालले विद्यालय सहज रूपमा सञ्चालन भए त्यस अवधिको तलव उठेको पैसाका आधारमा भागवण्डा गरेर दिन सकिने भन्दै इस्टुको अहिलेको माग सम्बोधन गर्न नसकिने अडान राखेका थिए ।
चार घण्टासम्म चलेको वार्तामा इस्टु र प्याब्सनबीचको अडानको मध्यविन्दुमा जान एन.प्याब्सन भद्रपुर नगर अध्यक्ष दीपबहादुर श्रेष्ठले गरेको प्रस्ताव गरेका थिए । त्यसमा लिखित रूपमा सहमति गर्न इस्टुले आग्रह गर्दा प्याब्सन झापा नेतृत्वले जिल्लैभरि तलव मागको आगो लाग्ने भन्दै नेपालमै नचलाइएको आन्दोलनका रूपमा व्याख्या गरेपछि वार्ता विथोलिन पुगेको थियो ।
जिल्लाको धारणा राख्दै वरिष्ठ उपाध्यक्ष गौरीमान फागोले इस्टु भद्रपुरले उठाएको तीन महिनाको तलव कुनै हालतमा दिन नसकिने भन्दै भद्रपुरमा तलव दिन कागजी सहमती भए जिल्लाभर आगो लाग्ने अडान राखेका थिए ।
इस्टु प्रदेश १ सहसचिव राजु वरालले असोजबाट विद्यालय सञ्चालन भए त्यस उताको तलवका वारेमा कुनै सहमति नचाहिने प्राकृतिक सिद्धान्तको नियम भएको र बैशाखयताको ५ महिने अवधिका वारेमा सहमति आवश्यक भएको धारणा राखेका थिए ।
प्रतिउत्तरमा प्याब्सन जिल्ला अध्यक्ष एल पी उप्रेतीले कोभिड १९ का कारण उत्पन्न ५ महिने विषम परिस्थितिबाट सिर्जित समस्या शिक्षक कर्मचारी तथा विद्यालय सञ्चालकको समस्या नभएर राष्ट्रको समस्या भएको जिकिर गरे । अध्यक्ष उप्रेतीले इस्टु भद्रपुरको माग नेपालमै कही नउठेको फरक प्रकृतिको माग भएकोले भद्रपुरबाट निर्णय गर्नु सान्दर्भिक नहुने धारणा राखेका थिए ।
आफ्ना माग सुनुवाइ नहुने भएपछि इस्टु भद्रपुर नगर समितिले असोज ३ गते बिर्तामोडमा हुने बृहद् जिल्ला भेलापछि त्यहीबाट आन्दोलनको अन्तिम निचोड निकालेर अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्