मेचीनगर, असोज ४ । झापाको मेचीनगर ७ मदनबस्तीबाट २ सय १० जना नेकपा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपामा बसेर देश र जनताको भलो गर्न नसकिने ठहर गरी १५ संगठित सदस्यसहित उनीहरु बिनाशर्त काँग्रेसमा समाहित भएका हुन् ।
नेपाली काँग्रेस मेचीनगर नगरपालिका वडा नं. ७ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै काँग्रेसका जिल्ला सभापति उद्धव थापाले काँगेसले जनतालाई नढाँट्ने र सबैलाई न्याय हुने पक्षपातरहित राजनीति गर्ने बताए । उनले पार्टी संगठन निर्माण र जनसेवाका काममा जुट्न कार्यकर्ताहरुलाई आव्हान गरे । नेपाली काँग्रेस जनतामा आधारित पार्टी भएको हुँदा यसले जनमतको कदर गर्दै आम जनताको भलाई हुने काम गर्छ भन्दै सभापति थापाले कम्युनिष्टहरु कार्यकर्तामा आधारित पार्टी भएकोले उनीहरु आफ्ना कार्यकर्ता पोस्ने र जनतालाई शोषण गर्ने नीतिबाट परिचालित भएको बताए ।
नवप्रवेशीहरुका तर्फबाट मन्तब्य राख्दै एन्जेल प्रधानले कम्युनिष्टको भन्दा नेपाली काँग्रेसको खुल्ला, समाजवादी लोकतान्त्रिक नीति मन परेर आफूहरु बिनाशर्त काँग्रेसमा प्रवेश गरेको बताए ।सो अवसरमा राजकुमार बातर, दधिराम मैनाली, अर्जुन हुमागाँई, डम्बर बाँस्कोटा, बिकु बिर्जा, जाटली बिर्जा, मनोज बातर, कल्टी राजबंशी लगायतका नेकपाका कार्यकर्ता र समर्थकहरुलाई पार्टी सभापति थापाले नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा चारसय बढीले काँग्रेसको सदस्यता ग्रहण गर्ने पूर्वतयारी गरिएको भएपनि सत्ताधारी दलले गायब बनाएपछि २१० जना नेकपाका कार्यकर्तालाई काँग्रेसको सदस्यता बाँडिएको र छिट्टै अरुलाई पनि पार्टी प्रवेश गराइने नेपाली काँग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डेले बताए ।
नेपाली काँग्रेस मेचीनगर ७ का वडाध्यक्ष कञ्चन बरालको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति राम कट्टेल, सचिवहरु ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, सभासद उषा गुरुङ्ग, १ नं. क्षेत्रीय सभापति मणी उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी, चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ट्रेड युनियन काँग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, जिल्ला सदस्यहरु पुष्प पौडेल, टेकबहादुर सुब्बा, तेजप्रसाद चौलागाई, नेपाल तरुण दल जिल्ला अध्यक्ष गोपाल तामाङलगायतको उपस्थिति रहेको थियो ।सिताराम ढुङ्गानाले संचालन गरेको कार्यक्रममा स्वागत उत्तम राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्