झापा, असोज ६ । जनस्तरबाट कन्काई नगरपालिका ४ कोटीहोममा स्थापित पिसिआर परीक्षण ल्यावको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले प्रशंसा गरेको छ ।

अनुगमनका लागि आज आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको टोलीले अनुगमन गर्दै कोटीहोमको मेची कन्काई पिसिआर ल्यावको प्रशंसा गरेको हो । कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माको नेतृत्वमा आएको टोलीले ल्याब राम्रो लागेको प्रतिक्रिया दिएको हो । ‘ ल्याब चल्नेयोग्य छ ’ प्रतिदिन दैनिकसँग कुरा गर्दै डा. शर्माले भनिन् ,‘ जनताको सहयोगबाट खोलिएको ल्याब कुनै पनि हालतमा बन्द हुनु हुँदैन ।’ चार जनाको टोलीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी कन्सल्टेन्ट माइक्रोबाइलोजिष्ट लिलि श्रेष्ठ पनि सहभागी रहेकी थिइन् । टोलीलाई मेची कनकाई पिसिआर ल्याबका इन्चार्ज जितेन्द्र झाले ल्याबको गतिविधिबारे जानकारी दिएका थिए । अनुगमन टोलीले कोटीहोममा एकजना मास्टर्स डिग्री भएका जनशक्तिको अभाव भएको बताएको थियो । मेची अस्पतालको मातहतमा रहेको सो ल्यावमा हाल ६ जना कर्मचारी रहेका छन् । जसको व्यवस्थापन कनकाई नगरपालिकाले गरेको छ । सो ल्याबले प्रत्येक दिन २०० देखि २५० जनाको पिसिआर परीक्षण गर्ने गरेको इन्चार्ज झाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्