मनिषा चम्लागाईँ

झापा । नेपाली अर्थोडक्स चिया कम्पनीले चियालाई राष्ट्रियता झल्कने लोगोसहित विश्व बजारमा पठाउन पाउने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२ वटा चिया कम्पनीलाई ‘ट्रेडमार्क’ उपलब्ध गराएसँगै नेपाली अर्थोडक्स चिया अब आफ्नै लोगोसहित विश्व बजारमा निर्यात हुनेछ ।

‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ले तय गरेको मापदण्ड पुरा गरेका १२ वटा कम्पनीले ‘नेपाल टि क्वालिटि फ्रम द हिमालयन’ नामक ‘ट्रेडमार्क’ पाएका हुन् । ट्रेडमार्क पाएसँगै चिया उद्योगीहरु हर्षित भएका छन् ।
चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पुरा गरेका चिया कम्पनीलाई मंगलबार चिया तथा कफी विकास बोर्ड र सुर्योदय नगरपालिका इलामको आयोजनामा भएको कार्यक्रममा कृषि मन्त्री घनश्याम भुषालले ट्रेडमार्क प्रमाणपत्र उपलब्ध गराएका छन् ।

कार्यक्रममा इलाम, तेह्रथुम र संखुवासभा जिल्लाका अर्थोडक्स चिया उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क प्रमाणपत्र पाएका छन् । ट्रेडमार्क पाउने इलामका चिया कम्पनीहरुमा सन्दक्फु टि प्रोसेसर्स, हिमालयन सांग्रीला टी प्रोड्युसर्स, जसबिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रीन टी एण्ड स्पेसियालीटि, ओएसिस टी इन्डस्ट्रिज, तारा गाउँ टी स्टेट, साखेजुङ हिल रेन्ज चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था रहेका छन् । यसैगरी तेह्रथुमका बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था र संखुवासभाको सगरमाथा टी स्टेटले ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेका छन् । बाँकी कम्पनीहरुलाई मापदण्ड पुरा गरेपछि ट्रेडमार्क प्रदान गरिने चिया तथा कफि विकास बोर्डले जनाएको छ ।
कार्यक्रममा मन्त्री भुषालले नेपाली चियाले विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्नका लागि ट्रेडमार्क सहायक सिद्ध हुने जनाए । भुषालले चिया तथा कफी विकास बोर्डलाई प्राप्त लोगो कार्यान्वयन गर्न निर्देशन दिए । त्यसका लागि कृषि मन्त्रालयले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालका अन्य कृषि उपजलाई पनि ट्रेडमार्क प्रदान गरेर विश्व बजारमा पु¥याउन सरकार प्रतिवद्ध रहेको भुषालले बताए ।
यस अघि बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री र चिया बगानको अनुगमन गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरिएको मार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईँले बताए ।
“अहिलेसम्म विश्व बजारमा आ–आफ्नो उद्योगको नाममा चिया निर्यात हुँदै आएको थियो” हिमालयन टि प्रोडियुसर्स कोअपरेटिभ्स लि.का अध्यक्षसमेत रहेका चापागाईँ भन्छन्, “लोगो प्राप्त गरेसँगै व्यवसायीले सोझै पठाउने गरेको चियालाई राष्ट्रियता झल्कने लोगोसहित पठाउन पाउने भएका छन् ।”
व्यवसायीले लोगो प्रयोग गर्नुअघि उत्पादन गरेको हरियो पत्ती र तयारी चियाको परिमाण बोर्डलाई देखाउनुपर्ने निर्देंशिकामा उल्लेख छ । वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय रहेको चापागाईँले जनाए । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर निर्यात हुँदा नेपाली चिया साथै नेपालीको पहिचान विश्व बजारमा स्थापित हुने व्यवसायीको भनाई छ ।
लोगो प्राप्तपछि उद्योगले कसरी चिया उत्पादन, प्रशोधन र प्याकेजिङको काम गरिरहेको छ भन्ने विषयको निरन्तर अनुगमन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । लोगो कार्यान्वयनपछि अनुगमन समितिले किसानको चियाबारी, चिया टिपाइको अवस्थाबारे निरीक्षण समेत गर्ने अधिकारी बताउँछन् । निर्देशिकामा उल्लेख भएका आचारसंहिता उल्लंघन गरेमा उद्योग तथा व्यवसायीले पाएको लोगो खोस्नसमेत सकिने कार्यविधि रहेको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्छ उक्त रकम चियाको बजारीकरणका लागि खर्च गरिने प्रावधान छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा बोर्ड र मन्त्रालयले दर्ता प्रक्रिया शुरु गरेको अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्