दमक, असोज ७ । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् ।

दमकस्थित प्रतिदिन दैनिकका प्रतिनिधिसंग कुराकानी गर्दे डाक्टर राईले अढाई दशकदेखि शरणागत भुटानीहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकारले ठोस कदम नचालेका कारण समस्या अल्झिरहेको बताए । भुटानबाट खेदिएका नेपाल मूलका भुटानीहरुलाई स–सम्मान भुटान फर्काउन दबाब सृजना गर्न नेपाल सरकारबाट पर्याप्त पहल हुन नसकेको उनको भनाइ छ ।
भुटान र नेपाल सरकारबीच भएका विभिन्न चरणका सरकारी द्विपक्षीय वार्तालाई परिणाममुखी वनाउन नेपाल सरकार पूरै असफल भएको उनले दावी गरे । उनले भने –‘यतिका लामो वार्तालाई निष्कर्षमा लैजान सक्नु पथ्र्यो,तर भएन ।’
उनले शरणार्थी हेरचाहमा संलग्न दातृ निकायले समेत यस मुद्धालाई ओझेलमा पार्ने काम गरेको आरोप लगाए । स्वदेश फिर्ती प्रकृया एक मात्र शरणार्थी समस्या समाधानको एजेण्डा भएपनि दातृ संस्थाले समेत त्यस मुद्धालाई बेवास्ता गरेर तेश्रो देश पुनर्वासमा जोड दिएको उनले बताए ।
भुटानी शरणार्थीलाई पश्चिमा मुलकमा पुनर्वास गराएर मात्र यस समस्या नसुल्झने भन्दै उनले भने–‘शरणार्थीको दीगो समाधान भनेको उनीहरुको थातथलो नै हो, त्यसमा अन्तर्राष्ट्रिय जगतले समेत ध्यान दिनुपर्छ ’ भुटानी मामिलाका विषयमा नेपाल सरकारलाई पटकपटक आफनो कुरा राख्दै आएपनि सुनुवाई नभएको उनको गुनासो छ ।
उनले शरणार्थीको घर फिर्ती प्रकृया हल नहुनुमा शरणार्थी एकता कमजोर हुनु पनि सहायक कारण भएको औल्याए । आफै छिन्नभिन्न भएपछि शरणार्थी मामिला दिशाहीन बन्न पुगेको उनको तर्क छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्