फिक्कल ,असोज ८ । दुवै मिर्गौलामा समस्या भएर उपचारका लागि आर्थिक अभावले छटपटाइरहेकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्षअघि नै अञ्जलीको मिर्गौलाले काम नदिएको बताएपनि उनले उपचार गर्न सकेका थिएनन् ।सूर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी तथा हाल चौधरी ग्रुप काठमाडौमा कार्यरत कुनाल राईको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो । सुरुमा आफ्नै नजिकका साथीभाइ र आफू कार्यरत संस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राईले ६३ हजार रुपैंयाँ बढी संकलन गरिसकेका छन् भने अन्य मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन् । ‘सुनौलो भविष्य बोकेकी एउटी चेलीलाई बचाउनु हामी सबैको दायित्व हो, सकेको सहयोग गरौं र अन्जलीलाई चाँडै स्वस्थ्य बनाऔं भन्ने अभिलाषाले नै हामी जुटेका हौं,’ राईले भने,‘विश्वभर छरिएका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन हाम्रो अनुरोध ।’ अन्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पुरै सुनिएको छ । बिर्ता सिटी अस्पताल झापाले रेफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ । शरीरमा तागत शुन्यप्राय छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्षदेखि स्कुल जान सकेकी छैनन् । भत्किसकेको झुप्रोमा ओत लागिरहेका टिकारामको जग्गाजमिन पनि छैन । त्यसैले उनलाई यतिबेला छोरी कसरी बचाउने भन्ने चिन्ता छ । तामाङ परिवारले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक (ललितपुर) को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन् र आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्