दमक , असोज ८ । कमल गाउँपालिका ७ गेउरियाका भीमराज केरुङले नेपाली समाज र राजनीतिलाई समेटेर ‘रातो भुइँ’ नामक पुस्तक प्रकाशन गरेका छन् ।

उनले समाजमा कायम रहेका सामाजिक, जातीय,धार्मिक तथा समसामयिक विषयहरुलाई समेटेर छिट्ठै पुस्तक ल्याउँदैछन् ।
लेखक केरुङका अनुसार दशै अगावै विमोचन गर्ने गरी छापाखानामा धमाधम पुस्तक छाप्ने काम भइरहेको छ । लेखकले लामो समय खोज अध्ययन गरेर कृतिमा विभिन्न दश अध्यायमा ती विषयवस्तुहरुलाई समावेश गरेका छन् । अध्याय १ मा प्राचीन मानव सभ्यता र चिहानबीचको सम्बन्ध ,दोस्रोमा पहिचानसहितको संघीय संरचनामा किन मुलुक गएन ? भ्रम र यथार्थ, तेस्रो अध्यायमा समाज रुपान्तरणको एउटा जटिल पक्ष ः जातीय विभेद तथा छुवाछुत, चौथो अध्यायमा सरकारी नोकरीमा आरक्षणको सवाल ,पाँचौमा किन विवादित बन्यो, आदिवासी रंगशाला ? जस्ता विषयलाई चित्रण गर्न खोजेका छन् ।
त्यसैगरी पुस्तकको छैठौ अध्यायमा लेखकले आफ्नै ठाउँ हाल कमल गाउँपालिका ७ स्थित विष्णुकठ्ठाका धिमाल जातिको विषयमा र सातौ अध्यायमा स्थानीय कमल ७ कै एउटा नलेखिएको इतिहास जो लालधोन्दा झोडाका भूपू सैनिकहरुका बारेमा खोजमूलक अध्ययन सामग्रीलाई चित्रण गरेका छन् । यस्तै उनले आठौ अध्यायमा सीतापुरी झोडाकाड एक राजनीतिक स्वार्थ, नवौ अध्यायमा भूमिसम्बन्धी ए्ेनहरुको विश्लेषण र दशौ अध्यायमा भूमिसुधार असफल हुनुका लक्षणहरुसम्बन्धी आफ्नो अध्ययन सामग्रीलाई समावेश गरेका छन् ।
२२२ पृष्ठको सो पुस्तकअघि लेखकले २०५६ सालमा कविता संग्रह निकालेका थिए । साहित्यसंगै वामपन्थी राजनीतिमा सक्रिय केरुङले यस पुस्तक समाज र राजनीतिकसम्बन्धी अध्ययन गर्नेका लागि पठनीय भएको दावी गरेका छन् । पुस्तकको प्रकाशन लेखककै बुवा कपरोल गणेशप्रसाद केरुङ लिम्बुले गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्