शिवसताक्षी , असोज ९ । मौरीपालन सम्बन्धी एक दिवसीय कार्यक्रम शिवसताक्षीमा सम्पन्न भएको छ ।

‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन’ भन्ने मूल नाराका शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग तथा यूटर्न इन्टरनेसनल प्रालिको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मौरीजन्य उत्पादन मह, पराग, चोप शाहीखुराकबाट मानव जीवनमा पर्ने स्वास्थ्य प्रभाव साथै परागसेचनले कृषि उत्पादनमा हुने बृद्धिका बारेमा सहजीकरण गरिएको थियो । यूटर्न इन्टरनेसनल प्रालि प्रदेश नं. १ का सहजकर्ताहरु खगेन्द्र तिम्सिना, जीवन बुढाथोकी र बिकास कोइरालाले मौरीको उपयोगिताका बारेमा श्रब्य, दृष्यका माध्यमबाट सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सतासी महिला मौरीपालन सहकारी संस्थाले उत्पादन गरेको महले शिवसताक्षी नगरपालिका मात्र होइन, प्रदेश नं. १ कै नमुनाको रुपमा अघि बढेको बताएका छन् । शेर्माले महिला दिदीबहिनीहरुले लामो समयदेखि एक आपसमा मिलेर गरेको यस कार्यप्रति आभार प्रकट गर्दै नगरपालिकाले गर्नुपर्ने सहयोग सदा रहने प्रतिबद्धता ब्यक्त गरे । संस्थाकी अध्यक्ष धनमाया थापाले संस्थामा ५ सयबढी सदस्य रहेपनि मौरीपालनमा सयको हाराहारीमा मौरीपालक कृषकहरु रहेको बताइन् । उनले भनिन् ‘संस्थासँग आर्थिक स्रोत छैन, धितो राखेर ऋण लिन संस्थासँग १ कट्ठा जग्गा मात्र रहेकाले नगरपालिका तथा संस्थाको संयुक्त जमानीमा ऋण पाउने व्यवस्था मिलाई दिन नगरपालिकासँग आग्रह गर्दछु ’ । उनले मौरीको गोला बढाउन सके महबाट उत्पादन हुने सम्पूर्ण सामग्रीहरु यहीबाट उत्पादन गर्न सकिने बताइन् ।
उनले अहिले केही मौरीपालक कृषकहरुसँग ५० गोलादेखि ३ सय गोलासम्म मात्र मौरी रहेकोमा सरल ब्याजमा ऋण उपलब्ध भएमा १ हजार गोलासम्म एक जना किसानले मौरी पाल्न सक्ने बताउँदै मौरीका लागि चरनको समेत अभाव भएको जानकारी गराइन् ।
कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख भोजकुमारी नेपाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश योङहाङ, नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, बिभिन्न वडाका वडाध्यक्षहरु लगायतको मन्तव्य तथा आतिथ्यता रहेको थियो । संस्थाकी अध्यक्ष धनमाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका लेखा संयोजक फूलकुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा ५० भन्दा बढी मौरीपालक कृषकहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्