भद्रपुर , असोज ९ । हुलाकी सडकको भद्रपुर—जलथल सडकखण्डको निर्माण कमसल भएकै कारण सडकमा खाल्डाखुल्डी पर्दा आवतजावतमा स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।

निर्माण ठेकेदारको भरमा सडक निर्माण छोडिदिँदा निर्माण गरिएको एक वर्ष नपुग्दै खाल्डो परेपछि स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।
हल्दिवारी ४ स्थित बडावारी चौक पूर्वपट्टि रहेको कल्भर्ट छेउमा तीन महिनायता परेको खाल्डोका कारण सडक आवतजावतमा निकै कठिनाइ परिरहेको स्थानीय बासिन्दाको गुनासो छ ।
स्थानीयले आवतजावतमा समस्या आएपछि वडा कार्यालयमा दुखेसो पोखेको भएपनि खाल्डो ज्यूँकात्यू रहेको छ ।
वडाबासीको दुखेसोबारे वडाध्यक्ष होमप्रसाद चुँडाल सडक निर्माण ठेकेदारलाई अविलम्ब खाल्डो पुर्न जानकारी गराइसकेको भन्दै एक—दुई दिनभित्र समस्या हल हुने बताउँछन् ।
सोही सडक हुँदै गाउँपालिका कार्यालयतिर जाँदै गरेका गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हुलाकी सडक परियोजनाको काम गुणस्तरहीन भएकै कारण समस्या आएको बताए । उनले खाल्डोका कारण गाउँबासीले दुःख पाउनु नहुने भन्दै तुरून्तै सडक मर्मत गर्न निर्माण ठेकेदारलाई निर्देशन दिइसकेको जानकारी दिए ।

भद्रपुरको झापा चौकदेखि जलथलसम्म गत वर्ष नै कालोपत्रे गरेको हुलाकी सडक निर्माण ठेकेदारले दर्जनबढी स्थानमा कल्भर्ट र पुल आसपास छोडेका टुक्राटाक्री दुर्घटनाको कारण बन्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्