झापा,असोज १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को सभापतिमा झापा विर्तामोडका राजु धमला (रुपदल) निर्वाचित भएका छन् ।

सोमबार धरानमा सम्पन्न प्रथम अधिवेशनबाट प्रदेश समितिमा धमला निर्वाचित भएका हुन् । उनले सभापति पदमा धरानका किसन मास्केलाई पराजित गरेका थिए । सोमबार अबेर भएको मतदानमा धमलाको पक्षमा ५० मत खसेको थियो भने मास्केको पक्षमा ३७ मत मात्र खसेको थियो ।
यस्तै, उपसभापतिमा उदयपुरका चतुर चौधरीले ६६ मत र इलामका धनमान बराइलीले ४५ मत पाएर निवार्चित भए । उपसभापतिमा पराजित अर्का उम्मेदवार उर्लाबारीका ज्ञानुकुमार श्रेष्ठले मात्र ४३ मत पाए । सचिवमा इटहरीका कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सहसचिवमा दमकका मेघराज धमला पनि निर्विरोध चयन भएका छन् ।
यस्तै, कोषाध्यक्ष पदमा बिर्तामोडमा राजेश सोनी विजयी भए । कोषाध्यक्ष पदमा धरानका राजेश अग्रवाल र अर्का उम्मेदवार राजेश सोनीले बराबर ४२ मत पाएका थिए । मत बराबर पाएपछि गोलाप्रथाबाट सोनी विजयी भएको जनाइएको छ । यस्तै सहकोषाध्यक्षमा झुम्काका पूर्ण श्रेष्ठ पनि निर्विरोध भएका छन् ।
महासंघको प्रदेश समिति कुल १५ सदस्यीय कार्यसमिति हुनेछ । अन्य ५ जना सदस्यहरुमा महिला सदस्यमा सुन्दर हरैचाकी सिर्जना घिमिरे, एशोसिएट सदस्यमा विराटनगरका आलोक राठी चयन भएका छन् भने सदस्यहरुमा ओखलढुंगामा युवराज विश्वकर्मा, भोजपुरका निरबहादुर विश्वकर्मा र विराटनगरका विमल कुमार वेगवानी रहेका छन् । कार्यसमितिमा एक जना निवर्तमान अध्यक्ष पनि सदस्य हुनेछन् भने एक जना सदस्य मनोनित हुन्छ । सोमबार भएको अधिवेशनमा ९४ जना सदस्य दर्ता भएपनि ८९ मत मात्र खसेको निवर्तमान सभापति माहेनकाजी शाक्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्