भद्रपुर, असोज १५ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई झापाका पाँचटा रोटरी क्लवले संयुक्तरुपमा रियल टाइम पिसिआर मेशिन उपलब्ध गराएका छन् ।
रोटरीको क्ल अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२ को सहयोगमा झापाका रोटरी, बिर्तामोड, बिर्तामोड मिडटाउन, रोटरी भद्रपुर, रोटरी काँकरभिट्टा, रोटरी सुरुंगा र रोटरी दमकले बिहीबार मेची प्रादेशिक अस्पतालमै पुगेर संयुक्तरुपमा पिसिआर मेशिन प्रदान गरेका हुन् ।
अस्पतालको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई संयुक्तरुपमा पिसिआर मेशिन हस्तान्तरण गरिएको थियो ।
रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता र पूर्व अध्यक्ष मीनप्रकाश मैनालीको सञ्चालनमा भएको कार्यक्रमका रोटरी डिस्ट्रिक्टका असिस्टेन्ट गभर्नर नविनकुमार श्रेष्ठ, सपना रिजाल, सेक्रेटरी सुशील रिजालसमेतको सहभागिता थियो भने जिल्लाका सबै रोटरीका अध्यक्षलगायत पदाधिकारी उपस्थित थिए ।
कार्यक्रमका बीच अस्पताल विकास समितिका अध्यक्ष पोर्तेलले अर्को पनि पिसिआर मेशिन प्राप्त भएकाले परीक्षणको दायरा बढ्ने र नतिजाको समय घट्ने बताए । डा. ठाकुरले मेची अस्पतालमा शुल्क तिरेर परीक्षण गराउन चाहनेहरुका लागि त्यस्तो सेवा पनि शुरु भइसकेकाले अहिले प्राप्त मेशिनले थप सहयोग पुग्ने बताए । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नेपालमा बढ्दै गइरहेको बेला परीक्षणको दायरा बढाउन सहयोग पुर्याउने उद्देश्यले रोटरीले देशभरि ७ वटा पिसिआर मेशिन प्रदान गर्ने निर्णय गरेअनुसार प्रदेश १ मा मेची अस्पताललाई एउटा मेशिन उपलब्ध गराइएको रोटरियन निर्मल भट्टराईले जानकारी दिए । मेशिनको मूल्य सरदर १३ लाख ५० हजार रुपैयाँ रहेको रोटरी क्ल अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले बताए ।