मनिषा चम्लागाईँ

झापा, असोज १५ । झापाको धुलाबारीमा पूर्वकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’सञ्चालनमा आएको छ । डेढ अर्व रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त होटल भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो । होटल पूर्वपश्चिम राजमार्गले छोएको धुलाबारीमा आठ विगाहामा फैलिएको छ ।

पूर्वमा पर्यटनको राम्रो सम्भावना देखेर नै होटेल सञ्चालनमा ल्याइएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले बताए । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दुरीमा रहे पनि नेपाल तर्फ सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किम लगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरु सुविधासम्पन्न होटलको खोजिमा थिए” कार्कीले भने, “यि पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनामा ल्याइएको हो । मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश–१ मै पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको कार्कीले बताए ।


चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटकको रोजाइमा पर्ने होटेलको व्यवस्थापन कम्पनी ‘दी पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने लेखकले जानकारी दिए । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरु छन् । त्यसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेका छन् ।


होटल सञ्चालकले नेपालकै सबैभन्दा ठूलो क्यासिनो मेची क्राउनले निर्माण गरेको दाबी गरेका छन् । सिमा नाका सहज भएसँगै क्यासिनो सञ्चालनमा ल्याउने प्रालिका अध्यक्ष कार्कीले बताए । होटलमा चर्चित भारतीय ब्रान्ड गोल्डेन क्यासिनो गु्रपको प्रवेश भएको छ । होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन गु्रपले सञ्चालन गर्नेछ । पूर्वमा क्यासिनो पर्यटनको सम्भावना रहेकाले क्यासिनो सञ्चालनमा ल्याइएको कार्की बताउँछन् । सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ । क्यासिनो सञ्चालन भएपछि ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।


नेपालमा सुविधासम्पन्न होटल नहुँदा विवाह साथै विभिन्न पार्टी गर्न कै लागि पूर्वका नागरिक भारतको सिलगढी पुग्नेगरेका छन् । काठमाडौँ जानका लागि खर्च धेरै साथै दुरी टाढा भएकाले भारतीय बजार पुग्ने गरेका हुन् । मेची क्राउन सञ्चालनमा आएसँगै विभिन्न पार्टीका लागि सिलगढी पुग्नुपर्ने बाध्यता हट्ने सञ्चालक बताउँछन् । “विवाह गर्न कै लागि र कोही पाहुना आए पनि सुविधासम्पन्न होटलको अभावमा विराटनगर, सिलगढी धाउनु पर्ने अवस्था हटेको छ ।” अध्यक्ष कार्की भन्छन्, “आफ्नै देशमा, स्वच्छ वातवरणमा बनेको होटल सबैको रोजाइमा पर्ने छ ।” विवाह भोज, सेमिनार जस्ता ठूला कार्यक्रमका लागि भारतमा खर्च हुने लाखौँ रुपैयाँ नेपालमा रहने कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्