दमक, असोज १९ । दमक ६ स्थित लिङदेनमार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमणको असरलाई मध्यनजर गरेर यस बर्षको नवौं बार्षिक साधारणसभा एक साता लगाएर सम्पन्न गरेको छ ।

५ असोजमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेर शुरु भएको साधारणसभा एक साता लामो सञ्चालन भएको थियो । संस्थाले मुख्य कार्यालयसहित बिर्तामोड,कमलको मंगलवारे ,मोरङको उर्लावारी,इलामको माङसेवुङस्थित भन्ज्याङ र शिवसताक्षीको झिलझिलेवाट आफ्ना शेयर सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराएको संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले बताए ।
संस्थाले आफ्ना सेवा केन्द्रहरुमार्फत आलोपालो गरेर १३ असोजसम्म प्रतिवेदन उपलब्ध गराएको थियो । सो समयभित्र सम्पर्क गर्न नसकेका सदस्यहरुलाई निरन्तर प्रतिवेदन उपलब्ध गराउँदै सुझाव लिएर साधारणसभा सम्पन्न गरिएको संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले जानकारी दिए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यस बर्ष भव्य रुपमा साधारणसभा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्नु परेको संस्थाका सचिव दिलिप जवेगुले वताए । साधारणसभामा अध्यक्ष लिङदेनसहित लेखा समितिको प्रतिवेदन सुझाव हित पारित गरिएको थियो । साधारणसभापछि संस्थाका सञ्चालक समितिसहित विभिन्न उपसमितिको संयुक्त बैठकले साधारणसभाको समीक्षा समेत गरिएको कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले बताईन् । समीक्षा बैठक संस्थाको मुख्य कार्यालयमा शनिवार सम्पन्न गरिएको थियो । बैठकले साधारणसभा सम्पन्न गर्न सहयोग पुरयाँउने शेयर सदस्यसहित अहोरात्र खट्ने कर्मचारीलाई धन्यवाद दिने समेत निर्णय भएको उनले जनाईन् ।
सेवा केन्द्र विस्तार गरिँदै
दमकसहित बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको सो संस्थाले यस बर्ष झापाको शिवसताक्षी र मोरङको उर्लावारीसमेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाएको छ । साधारणसभाको कार्यसूचीअनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि बिर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा ,१० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा, दमक वडा नम्बर १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराइएको थियो ।
झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरी १०७९ जना शेयर सदस्य छन् ।
शेयर पूंजीमा बृद्धि
गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ हजार ९१ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्