झापा , असोज २५ । झापामा अहिलेसम्मकै सबैभन्दा बढी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला र ३६ जना पुरुष छन् ।

एकैपटक १० वटा पालिकामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमक नगरपालिकामा २५ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, बिर्तामोड नगरपालिकाका १५ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् । मेचीनगरका २ जना र भद्रपुरका एक जना संक्रमित बैंकका कर्मचारी हुन् भने बिर्तामोडका ९ जना स्वास्थ्यकर्मी रहेको फोकल पर्सन जीवन चांैलागाईले जानकारी दिएका छन् ।उनका अनुसार मेचीनगरका ५ जना पुरुष, भद्रपुरका १ महिला, २ पुरुष, बिर्तामोडका ५ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दमकमा ११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समान ११ जना महिला, झापा गाउँपालिका, कनकाई र गौरादहमा समान ११ जना पुरुष तथा कमल गाउँपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पूर्वाञ्चल क्यान्सर हस्पिटलका ९ जनालाई संक्रमण
पूर्वाञ्चल क्यान्सर हस्पिटलका ९ सहित बिर्तामोड नगरपालिकामा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादव पनि रहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा उनीहरुमा पोजिटिभ देखिएको हो । क्यान्सर रोग विशेषज्ञ डा. यादव आफैले पनि आइतबार विहान सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् । तर, हस्पिटलले त्यसबारे जानकारी दिन खोजेको छैन । त्यस्तै बिर्तामोडमा सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं १ , २ र ३ का अन्य पाँच जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश १ मा थपिए ४०९ संक्रमित
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १०४ जनाको पिसिआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगमा २३६, सुनसरीमा ९७, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ । प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।
२४ घण्टामा दुई हजार ७१ संक्रमित थपिए ः २२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेशनमा १७ हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालका दुई मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्