बिर्तामोड , असोज २५ । कोरोना संक्रमितलाई रेखदेख गर्ने ब्यक्तिहरु प्रवेश गरेपछि बिर्तामोड नगरपालिकाको गरामनीमा रहेको ७ , ८ र ९ नं वडाको संयुक्त वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

मिर्गौलाको समस्या भएर विराटनगरको नोवेल हस्पिटल लगिएका बिर्तामोड ९ का एक व्यक्तिलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । ती संक्रमितको स्याहारसुसार र रेखदेखमा खटिएका ब्यक्तिहरु संयुक्त वडा कार्यालय आएका थिए ।त्यही भएर भोलिदेखि तीन दिनसम्मका लागि संयुक्त वडा कार्यालय बन्द गरिएको बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठकले बताइन् । उनले नगरपालिकासँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिइन् । राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्न भीडभाड चलिरहँदा संक्रमण पुष्टि भएका ब्यक्तिका परिवारका सदस्यहरु पनि वडा कार्यालय गएका थिए । ती व्यक्तिलाई शुरुमा बिर्तामोडको बिएण्डसी हस्पिटल लगिएको थियो । त्यहाँ निको नभएपछि विराटनगर लगिएको थियो । विराटनगरबाट विरामीलाई घर ल्याइसकेको अबस्थामा नोवेलमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको जनाइएको छ । त्यसबाट उनका परिवारका सदस्य , छिमेकी , वडा कार्यालयमा आएका सेवाग्राही , जनप्रतिनिधि , कर्मचारी लगायत त्रसित भएका छन् । संक्रमित व्यक्ति तरकारी व्यवसायी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्