शान्तिराम बस्नेत,
शिवसताक्षी , असोज २७ । गत असार २४ गतेको अविरल वर्षाको कारण कनकाई नदीले विस्थापित भएकी शिवसताक्षी–१० की एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङबाट सहयोग प्राप्त भएको छ ।

वैदेशिक रोजगारका क्रममा हङकङका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका शिवसताक्षीका मनकारी व्यक्तिहरुले तारा शेर्माको अपुरो घरलाई पूर्णता दिन लागेका हुन् । नेपाली कांग्रेस शिवसताक्षीको संयोजन तथा हङकङका नवीन सुहाङको सक्रियतामा हङकङ डलर ७ हजार ४ सय पाँच अर्थात १ लाख १३ हजार ३ सय रुपैंयाँ प्राप्त भएको हो ।
मेची अभियानमार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छानासहितको आरसिसी घर निर्माणका लागि अभियान चलाइरहँदा शिवसताक्षी समाज हङकङले पनि सहयोग गरेको सुहाङले जानकारी दिए ।

उनको घर निर्माण गर्न भनी हङकङका रोशन राजवंशीले १ हजार डलर, मणिकुमार शेर्मा, नारायणध्वज शेर्मा, तिलविक्रम कुरुम्बाङ, विजय बोखिम लिम्बु, जित साम्येम्खाम, जेवी याक्थुम्बा, सन्तोष साम्येम्खाम, बुद्धि शेर्मा र नविन सुहाङले जनही ५ सय डलर, टेकबहादुर राईले ३ सय ५ डलर, हेम लावती, राजु राई (सुरज), अशोक मावोमार्फत ३ सय डलर, सविना केदेम, सरिता कोयु राई, आयु इजममार्फत जनही २ सय डलर र सूर्य लावतीमार्फत १ सय डलर गरी ७ हजार ४ सय ५ डलर सहयोग प्राप्त भएको हो ।
प्राप्त रकम नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुङ्गाना, सह–सभापति विनोद ढकाल, महाधिवेशन प्रतिनिधि शिवकुमार योङया, नगर कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई, वडा नं. ११ का वडा सभापति अशोक बस्नेत, लायन्स क्लब अफ शिवसताक्षीका प्रेसिडेन्ट अग्नि दुलालमार्फत मेची अभियानका सदस्य ज्ञानेन्द्र निरौलालाई हस्तान्तरण गरिएको थियो ।
शेर्माको घर निर्माणका लागि शिवसताक्षी नगरपालिकाले जग्गा उपलब्ध गराएपश्चात् मेची अभियानले घर बनाइदिने प्रतिवद्धता गरेको थियो ।

असार २४ गते आएको कनकाई नदीको बाढीले शेर्माको सहित ६ वटा घर बगाएको थियो । कनकाई नदीको किनारामा असुरक्षित बसोबास गर्दै आइरहेकी शेर्माको श्रीमान्को एक बर्षअघि निधन भएको थियो । ५ – ७ बर्षका छोरी र अढाई बर्षको छोराको लालनपालन गर्नु पर्ने जिम्मेवारीमा रहेकी शेर्मा आफैं पनि बिरामी अवस्थामा छिन् । घर समेत नहुँदा बिचल्लीमा परेकाले बिभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेपछि नगरपालिका र मेची अभियान सहितका संघसंस्थाहरु उनको घर निर्माणका लागि अग्रसर भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्