बिर्तामोड , असोज २७ । नेपाल व्यापार कर्मचारी संघ ‘युनिकम’ नेपालले श्रम संगठनमा महिलामैत्री वातावरण र व्यापार क्षेत्रमा महिला सदस्यको उपस्थिति बिषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

‘युनिकम’ नेपालले सोमबार बिर्तामोडमा निजी क्षेत्रमा काम गर्ने महिलाहरुले भोग्नु परेका समस्या, दुःख र यौनजन्य हिंसाका बिषयमा अन्तरक्रिया गरेको हो ।
निजी क्षेत्रमा काम गर्ने महिलाहरुको काम गर्ने क्षेत्रको वातावरणको अवस्था र महिलाहरुले काम गर्दा भोग्नु परेका समस्याका बिषयमा कार्यशाला गोष्ठीका सहजकर्ता क्लास नेपालका पूर्व महासचिव कल्याण खड्काले सहजीकरण गरेका थिए । कार्यक्रममा विरता लेडी जेसीजकी पूर्वअध्यक्ष तथा महिला दबाब समुह झापाकी अध्यक्ष शारदा रिजाल, बिर्तामोड उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष पार्वता विमली खरेलले महिलाले निजी क्षेत्रमा काम गर्दा भोग्नुपरेका पिर मर्कालाई उठाएका थिए । उनीहरुले श्रम संगठनमा काम गर्ने महिलालाई सम्मान गर्न जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रममा ‘युनिकम’ नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले निजी क्षेत्रमा काम गर्ने महिलाको ज्यालामा अझै पनि बिभेद कायमै रहेको बताए । अध्यक्ष पौडेलले महिलालाई समान रुपले हेर्न निजी क्षेत्रलाई आग्रह गरे । महिलाले श्रम क्षेत्रमा भोग्नु परेका दुःखलाई युनिकमले उजागर गर्ने उनको भनाइ छ ।

व्यापार व्यवसायमा काम गर्ने मजदुर कर्मचारीलाई लकडाउन अबधिको तलब दिने सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष पौडेलले तत्काल तलब उपलब्ध गराउन माग गरेका छन् । रोजगारदाताले व्यापार व्यवसायमा काम गर्ने मजदुर कर्मचारीलाई लकडाउन अबधिको तलब दिएको छैन । सरकारका प्रतिनिधि, रोजगारदाता र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आबद्ध ट्रेड युनियन महासंघबीच व्यापार व्यवसायमा काम गर्ने कर्मचारीलाई चैत महिनाको पूरा तलब दिने र लकडाउन अवधिभर आधा तलब उपलब्ध गराउने सहमति भएको थियो ।‘ तर, त्यो सहमति भएको महिनौं बितिसक्दा पनि कामदारले तलब पाउन सकेका छैनन्’ अध्यक्ष पौडेलले भने, ‘सहमति अनुसार लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी गर्न नेपाल व्यापार कर्मचारी संघ ‘युनिकम’ नेपालले रोजगारदातासमक्ष माग गर्दछ ।’ साथै हाल कोरोनाको जोखिम उच्च रहेको र सबै फ्रन्टलाईनमा काम गर्ने सेल्समेनहरुलाई संक्रमण हुने जोखिम रहेकाले सुरक्षाका सबै उपाय अवलम्वन गरी काममा लगाउन र कर्मचारीको बिमा गरिदिन समेत अध्यक्ष पौडेलले माग गरेका छन् । ‘युनिकम’ नेपालका केन्द्रिय अध्यक्ष पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । डिपार्टमेन्ट, हार्डवेयर, कपडा, औषधी,कस्मेटिक, अटो मोवाइल्स लगायतका ब्यापार क्षेत्रमा देशभर १२ लाख ४० हजार कामदार कार्यरत छन् । झापा जिल्लामा मात्र ५ हजार कामदार कार्यरत रहेको युनिकम नेपालले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्