बिर्तामोड , असोज २७ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि सम्पूर्ण गतिविधि ठप्प बन्यो । लकडाउनका कारण झापाका सम्पूर्ण व्यापार व्यवसाय बन्द भएसंगै अटो व्यवसायीहरु पनि मर्कामा परेका छन् ।

चैत, बैशाख र जेठ महिनाको घरबहाल , बैकको कर्जा छुटसँगैै व्यावसायिक करमा समेत ३ महिनाको छुट दिने भनिए पनि छुट नपाएको अटो व्यवसायी गुनासो गर्छन् । झापाको अर्जुनधारा नगरपालिका -६ लक्ष्मीपुरका ४५ वर्षीय लक्ष्मण खतिवडा २ वर्षदेखि अटो व्यवसायमा निर्भर छन् । लकडाउनपछि निकै कष्टकर जीवन बिताइरहेको उनको भनाइ छ । लकडाउनअघि घर परिवार जसोतसो गुजारा चल्दै थियो । उनका दुई छोरा र एक छोरी छन् । छोरा र छोरी स्कुल जान्छन् । एक छोरा पुरोहित काम गर्छन् ।तर, अहिले लकडाउनका कारण छोरा पनि कामबिहिन भएका छन् । छोराले कमाएकोले परिवारमा केहि राहत पुग्थ्यो । ‘अहिले मेरो कमाईले घर चलाउनु पर्छ , दैनिक कमाई ८ सयदेखि एक हजारसम्म खर्च काटेर बच्थ्यो तर अहिले दैनिक ५ सयदेखि ६ सयसम्म मात्र कमाई हुन्छ’ उनले भने,‘ खानको लागि ऋण गरेको पैसा तिर्नु छ , अटो फाइनान्समा झिकेको तिर्नु परको कुरा हो , अब मसँग कुनै विकल्प छैन ।’ कोरोनाको डरले यात्रुहरु खासै अटो नचढेको भन्दै उनले खाली देख्यो भने मात्र चढ्ने गरेको बताए । ’एउटा मान्छे चढाउँदा ठीक हुने र त्यसो गर्दा लगानी डुब्ने भएकोले विकल्प छैन ’उनले समस्या सुनाए ।
त्यस्तै अर्का अटो व्यवसायी ३३ वर्षीय गोपाल तामाङ भन्छन्, ‘लकडाउनपछि हातमुख जोड्न निकै कठिन भैरहेको छ । फाइनान्समा झिकेको अटो लकडाउनपछि पैसा तिरेको छैन महिनाको १४ हजार पाँच सय तिर्नु पर्छ । ’ उनको घरमा आमाबुवा,श्रीमती र दुई छोरी छन् । घरपरिवार चलाउने माध्यम नै अटो होे । ‘पहिला १५ वर्षको उमेरदेखि मिस्त्री काम गरँे त्यो काम गरेर परिवार नचल्ने भएपछि अटो चलाउन थालेँ’ उनी भन्छन् , ‘लकडाउनले अब नेपाल बस्न नसकिने स्थिति भएको छ , ऋण तिर्नको लागि भएपनि बिदेशिनु मेरो बाध्यता बनेको छ ।’ लकडाउनअघि उनको कमाइ राम्रो थियो । दैनिक १५ सय बचाउन सक्थे । अहिले दिनको ५ सय बचाउन गाह्रो छ । ‘अरु काम गरेर खान पुग्दैन ऋण कसरी तिर्नु, अब मेरो अन्तिम उपाय विदेश जानु हो ’ उनी भन्छन् । लकडाउनपछि सम्पूर्ण अटो व्यवसायीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्