झापा , कात्तिक २ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र कर्मचारीसहित झापामा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ नगरपालिका र ३ गाउँपालिकाका १५ महिला र ३१ पुरुष गरी ४६ जनामा संक्रमण देखिएको हो । भद्रपुर नगरपालिकामा ४ महिला र १३ पुरुष संक्रमितमध्ये चार जना जिल्ला स्वास्थ्य कार्यालयका छन् । कार्यालयका निमित्त प्रमुख इश्वरी पौडेल र अन्य तीनजना कर्मचारीमा संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर नगरपालिकाका एकजना महिला स्वास्थ्यकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ भने नेकपाका नरेश संजेलको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै मेचीनगरमा ९ ,बिर्तामोडमा ७ , दमकमा ६ , गौरादहमा २ , अर्जुनधारामा २ तथा झापा , कमल , बाह्रदशीमा एक–एकजना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको सँख्या १३७६ पुगेको छ ।