दमक, कार्तिक ३ । झापाको दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीसहित केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पताल तीन दिनका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश शर्माका अनुसार संक्रमण थप फैलिन नदिन आजदेखि तीन दिनसम्मका लागि अस्पतालका सम्पूर्ण नियमित सेवाहरु वन्द भएका छन् । अस्पतालमा दैनिक ५ सय बढी विरामीले उपचार पाउँदै आएका छन् ।
दमकमा दिनानुदिन संक्रमण बढ्दै
यसैबीच दमकमा दिनानुदिन संक्रमण बढ्दै गएको छ । आइतबार परीक्षण गराएका १ सय १० मध्ये ५२ जनामध्ये नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीसहितका सामाजिक कार्यमा संलग्नहरुमा एकैसाथ संक्रमण पुष्टि भएको हो ।
यो परीक्षण निजी स्वास्थ्य संस्थामार्फत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै त्यसअघि शनिबार परीक्षण गराएका ४० जनामध्ये १६ जनामा कोरोना पुष्टि भएको छ । सरकारी तथ्यांकमा भने यो संख्या समाबेश भएको छैन । प्रकृयामा केही समय लाग्ने गरेका कारण सरकारी तथ्यांकमा समाबेश हुन समय लाग्ने स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
दमकमा निजीस्तरबाट परीक्षणको सहजीकरण गरिरहेका प्रकाश अधिकारीका अनुसार अहिले दमकमा दैनिक परीक्षण भईरहेको छ । स्वाव संकलनका लागि विराटगरस्थित न्यूरो अस्पतालका प्राविधिक टिम आउने गरेको उनले बताए । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका अधिकारी,दमक उद्योग वाणिज्य संघका सदस्यहरु मोहन ढकाल,राजकुमार थापा लगायतका उद्यमी तथा व्यवसायीहरु समेत संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट दमकमा एक महिलासहित ६ जनाको मृत्यु भईसकेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्