भद्रपुर, कात्तिक ३ । भद्रपुर माविका लेखापाल जयदेवचन्द्र घोषमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेको छ ।

लेखापाल जयदेवचन्द्र घोष

बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको विद्यालयको जग्गाको रकम लिएर विभिन्न ब्यक्तिलाई बस्न दिएको , विद्यालयको जग्गाको कुत हिनामिना गरेको आरोपमा अख्तियारको छानविनमा रहेका घोषमाथि अर्को उजुरी परेको हो । विद्यालयका शिक्षक कर्मचारीको उमेर हदम्याद ६० वर्ष रहेकोमा घोषले ७० वर्षको उमेरसम्म जागिर खाइरहेका छन् ।उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति २००७ साल असार २५ गते रहेको छ भने शैक्षिक प्रमाणपत्रमा जन्ममिति २००९ साल असार ३२ गते देखिन्छ । जसमा दुई वर्षको फरक छ । उनी २०६७ सालमै ६० वर्ष पूरा भएका थिए । त्यहीबेला सेवा निवृत भइसकेका उनले जागिर छोडेनन् । उमेर हद पूरा भइसकेपनि नेपाल विद्यालय कर्मचारी परिषद र शिक्षा मन्त्रालयबीच भएको सहमतिलाई निहुँ बनाएर उनले जिन्दगीभर जागिर खाने सोच बनाएका छन् । त्यतिबेला अर्को शिक्षा नियमावली जारी नहुन्जेलसम्म उमेर हद नतोकिने नेपाल विद्यालय कर्मचारी परिषद र शिक्षा मन्त्रालयबीच सहमति भएको बताइएको छ । उमेर हद कटिसकेपछि पनि जिन्दगीभरका लागि भन्दै जागिर खाइरहेका घोषमाथि अख्तियारमा उजुरी परेको हो ।अख्तियारले उनको जन्ममिति खुलाएर पठाउन विद्यालयलाई निर्देशन दिएको छ । त्यसको जवाफ पठाइएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङले बताए । अख्तियारले शुक्रबार पठाएको पत्रको जवाफ विद्यालयले आइतबार पठाएको गुरुङले जानकारी दिए । २०६९ सालदेखि निजी स्रोतबाट तलब खादै आएका घोषले कामै नगरी तलब लिने गरेका छन् । विद्यालयमा आएर काम नगरेपनि उनले तलब खाइरहेका छन् । शारीरिक रुपमा उनी अशक्त बनेका छन् । तर, पैसाको लागि जागिर छोड्दैनन् । शारीरिक र नैतिकताको हिसाबले जागिर छोड्न निरन्तर भन्दै आउँदा पनि उनले नटेरेको प्रअ गुरुङले बताए ।

बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको १७ विगाह १० कठ्ठा १० धुर जग्गा भद्रपुर माविको नाममा छ । धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि त्यस सरकारी जग्गामाथि भोगाधिकार अरुकै छ । नम्बरी जग्गा सरह अनाधिकृत रुपमा कब्जा गरेर मनपरीतन्त्र चलाएर बसेकाहरुले बर्षौदेखि स्कूललाई ठेक्कासमेत बुझाएका छैनन् । धुरको लाखौं पर्ने त्यस जग्गालाई पटकपटक खरिद बिक्री गर्ने गरिएको छ । जसले जे गरेपनि हुन्छ भनेर त्यस जग्गाको किनबेचमा ठूलै भूमाफिया र विचौलियाको गिरोह संलग्न रहेको देखिएको छ । त्यसमा घोषको पनि संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । त्यसउपर छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले बताए । त्यसैगरी घोषले जग्गामा बस्नेहरुबाट कुत उठाएर आफै लिएको , विद्यालयमा आम्दानी नबाँधेको आरोप पनि छ । उनको नाममा ९९ हजार रुपैयाँ बेरुजु समेत रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्