झापा कात्तिक, ५ । विराटनगर– ७ को आचार्य परिवारमा कोरोनाले बज्रपात नै ग¥यो । आइतबार ८२ वर्षीय छोराको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भयो । आचार्य परिवारमा कोरोनाको कहर यत्तिकैमा रोकिएन । निजनिवासमा छोराको काजक्रिया शुरु दुई दिन मात्र मात्र भएको थियो मंगलबार आमालाई पनि कोरोनाले लग्यो । नोबेलमै उपचाररत ९६ वर्षीय आमाको पनि मृत्यु हुन पुग्यो । आचार्य परिवारका अधिकांश सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।


परिवारका अनुसार क्यान्सरबाट पीडित छोरालाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो । घरमै होम आइसोलेसनमा रहेकी आमालाई श्वास प्रश्वासमा समस्या भएपछि लगत्तै अस्पताल भर्ना गरिएको थियो । तर, कोरोनाले गाँजेपछि वृद्धा आमा पनि परिवारले गुमायो । वृद्धाको वैदिक कर्मअनुसार मंगलबार नै विराटनगरको सिंघीयाघाटमा अन्तिम संस्कार गरिएको छ ।


छिमेकी कल्याण लामिछानेले भने, ‘कोरोनाको यस्तो बज्रपात त कसैको परिवारमा पनि नहोस् । मान्छे मर्दा मलामी जान र किरिया बस्दा छरछिमेकी पनि त्रासबिना जान नसक्ने अवस्था आँखै अगाडि देखियो ।’ विराटनगर–७ का वडा अध्यक्ष मधुबाबु तिवारीले परिवारका दुईजना सदस्यको दुईदिनको फरकमा कोरोनाकै कारण मृत्यु हुँदा टोल नै शोकमा डुबेको बताए ।

तिवारीले भने, ‘परिवारका अरु सदस्यहरुसमेतमा कोरोना पुष्टि भएकोले नियमित र सहज रुपमा काजक्रिया गर्न पनि कठिन भएको छ । यस्तो पीडा कसैको परिवारमा पनि नपरोस् ।’ तिवारीले कोरोनालाई खेलाँचीको रुपमा लिन नहुने र तोकिएका स्वास्थ्य सावधानी अपनाउन कमजोरी गर्न नहुने बताए ।


कोरोना संक्रमणका कारण मोरङको रंगेली नगरपालिकाको एउटा परिवारमा झन् दर्दनाक बज्रपात भयो । दम्पतीको १२ घण्टाको अन्तरमा मृत्यु हुन पुग्यो । यसले रंगेलीबासीको मन कोरोनाले नमेटिने पीडायुक्त घाउ बनाइदिएको छ । रंगेलीमा मेयर दिलिप अग्रवालले भने, ‘परिवारका मूल मानिसहरु नै कोरोनाको चपेटमा परेर एकै दिन बिते । परिवारमा ठूलो पीडा भएको छ ।’


सोमबार राति रंगेली नगरपालिका वडा नम्बर ४ का ८५ वर्षीय श्रीमानको विराटनगरको विराट नर्सिङ होममा मृत्यु भयो । सोमबार बिहान मोरङ सहकारी अस्पतालकै बेडमा श्रीमती पनि संसारबाट बिदा भइन् । रंगेली नगरपालिका–४ मा अहिले छरछिमेकीहरुलाई पनि यो घटनाले निक्कै दुःखित तुल्याएको मेयर अग्रवालले बताए । संक्रमित बसेको घरलाई औषधि छर्किएर सेनिटाइज गरिएको छ । रंगेली पनि अधिक संक्रमित रहेको मोरङको सहर हो । मंगलबार मात्र प्रदेश १ मा ८७० जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङका ३३७ जना छन् । रंगेलीमा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्