भद्रपुर, कार्तिक५ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सन सहित झापाका निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।


प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय सञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अस्विकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।
उजुरी समितिका संयोजक राजु वरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो ।
उजुरी पत्र बुझ्दै प्रमुख आचार्यले प्रचलित ऐन कानुन विपरित जाने जुनसुकै निकाय कानुनी दायरामा आउने प्रष्ट पार्दै झापाका निजी विद्यालय तथा तिनका छाता संगठनलाई तत्काल ऐन नियमको परिधिमा ल्याउने प्रष्ट पारेका छन् ।


संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेको झापाका अधिकंस विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले प्रचलित नियम कानुनलाई समेत चुनौति दिने गरी व्यवहार प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्