झापा , कात्तिक ८। सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुटको राजनीति यति धेरै हावी भएको छ कि सामाजिक संस्था पनि भिन्नाभिन्नै गुटले संचालन गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकामा नेकपाभित्रका तीनवटा गुटले तीनवटा सामाजिक संस्था संचालन गरेको पाइएको हो ।

नेकपाभित्रको पूर्व एमालेको दुईवटा गुटले दुईवटा र पूर्व माओवादीको एउटा गुटले एउटा संस्था खोलेका छन् । सामाजिक संस्थाको नाममा उनीहरुले गुटको राजनीति संचालन गरिरहेको पाइएको छ । हल्दिबारीमा मदन भण्डारी फाउन्डेसन , पुष्पलाल मित्रता केन्द्र र चतुरमान स्मृति प्रतिष्ठान संचालनमा छ । ती तीनवटा संस्था नेकपाका तीनवटा गुटले चलाएका हुन् । मदन भण्डारी फाउन्डेसन पूर्व एमालेभित्रको ओली गुटले चलाएको हो भने पुष्पलाल मित्रता केन्द्र पूर्व एमालेभित्रकै नेपाल गुटको हो । त्यस्तै चतुरमान स्मृति प्रतिष्ठान विशुद्ध पूर्व माओवादीको प्रचण्ड गुटले चलाएको छ । विशुद्ध सामाजिक क्रियाकलाप गर्ने उद्धेश्यले गैरसरकारी संस्थाको रुपमा दर्ता भएका ती संस्थामा सामाजिक व्यक्तिहरुलाई भन्दा आ—आफ्नै गुटका कार्यकर्ताहरुलाई समावेश गरिएको छ । मोहन रेग्मीको अध्यक्षतामा रहेको मदन भण्डारी फाउन्डेसनका सबैजना पूर्व एमालेअन्तर्गत ओली गुटका मात्र छन् । त्यस्तै पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष पूर्व एमालेभित्रको नेपाल गुटका हुन् ।त्यस संस्थामा सामान्य रुपमा अरुतिरका केहीलाई अटाउने प्रयास गरेको देखाउन खोजिएपनि अधिकांश नेपाल गुटकै छन् । त्यस्तै मोहन टुडुको अध्यक्षतामा रहेको चतुरमान स्मृति प्रतिष्ठानमा पूर्व माओवादी त्यसमा पनि प्रचण्ड गुटकै मात्र छन् । पूर्व माओवादीको बादल गुटलाई त्यहाँटाउँ दिइएको छैन । गुट र गुटका कार्यकर्ता लक्षित गरी खोलिएका ती संस्थाले राजनीतिक संगठनसरह गतिविधि गर्ने गरेको पाइएको छ । पार्टीभन्दा पनि गुट हेरेर मात्र सामाजिक र विकासका क्रियाकलापहरु ती संस्थाले गर्ने गरेको हल्दिबारीका एक स्थानीयले बताए । नेकपाभित्रको तीनवटा गुटले ती तीनवटा संस्था चलाएको मदन भण्डारी फाउन्डेसन हलिदबारीका अध्यक्ष रेग्मीले स्वीकार गरे । उनले नेकपाभित्र गुट सक्छु भन्ने ब्यक्ति आफै सिद्धिने भएकाले एउटा न एउटा गुटमा लाग्न जरुरी भएको धारणा राखे । ‘हामीले पार्टीलाई क्षति हुने गरी गतिविधि गरेका छैनौं’ उनले भने ,प्रतिष्पर्धा गर्दा स्वस्थ रुपमा गरेका छौं ।’ त्यस्तै पुष्पलाल मित्रता केन्द्रमा रहेका धर्मराज शिवाकोटीले आफ्नो संस्थालाई पोलिटिकल एन्जियोको रुपमा बुझ्न सकिने बताए । उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई जवर्जस्ती लाद्न खोजेपछि आफूहरुले यो संस्था जन्माएको स्पष्ट पारे । अब मदन भण्डारीको जवजको औचित्य सकिदै गएकाले त्यसलाई पुनर्विचार गर्नु पर्ने आवश्यकता औंल्याए । सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएका नेकपा माओवादीका चतुरमानसिंह राजवंशीको संझनामा खोलिएको चतुरमान स्मृति प्रतिष्ठानले पनि सामाजिक कामभन्दा आफ्नै गुटको राजनीतिलाई वकालत गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्