झापा , कात्तिक १९ । झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाले आत्महत्या गरेका छन् भने दुईजनाको मृत्यु भएको छ ।

दमककी एक कोरोना सक्रमित ंयुवतीले झुन्डिएर आत्महत्या गरेकी हुन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ फेनको हुकमा सलको पासो लगाएर उनले आत्महत्या गरेको जनाइएको छ ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । हाल घटनास्थल प्रहरीले सुरक्षित राखेको उनले बताए । सेनाको टोली आएसँगै मुजुल्का, पोष्टमार्टम लगायतका कानुनी प्रक्रिया अघि बढाउने प्रमुख पण्डितले बताए ।

त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो । त्यस्तै मेचीनगर नगरपालिका वडा नं १४ का एक ७० वर्षिय बृद्धको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका ७० वर्षिय देवी चिमरिया अस्पतालको आइसोलेसनमा उपचाररत् थिए । उनको आज विहान ७.५० बजे मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्