दमक, कात्तिक २० । मंगलबार कोरोना रोकथाम तथा समन्वय समिति दमकले बुधबारदेखि लागू हुनेगरी दमक नगरपालिकामा निषेधाज्ञा जारी ग¥यो । कोरोना जोखिम बढेको भन्दै दमक नगरपालिकाले अपरान्ह ४ बजेदेखि बिहान ७ बजेसम्म दमकमा निषेधाज्ञा जारी गरे पनि कार्यान्वयनमा सकस परेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउन बुधबार अपरान्ह ४ बजेअघि नै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाको टोली दमक पुग्यो । दमक नगरपालिका मातहत रहेको बजार अनुगमन समिति, प्रहरी प्रशासन, नगर प्रहरीदेखि लिएर उद्योग वाणिज्य संघकै प्रतिनिधि लागि परेपनि कार्यान्वयन गराउन समस्या भएको बजार अनुगमन समितिका संयोजक तथा दमक–७ का वडाध्यक्ष भीम पौडेलले बताए । ‘होटल व्यवसायीले पनि निषेधाज्ञाको विरोध गर्दै आउनुभएको छ’ पौडेलले भने, ‘होटल भनेको अपरान्ह पछि चल्ने व्यवसाय हो, त्यसैले व्यवसायीहरुबाट मारमा परेको गुनासो आएको छ ।

होटल व्यवसायी संघ दमकले बुधबार नै नगरपालिकामा निषेधाज्ञा हटाउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । ‘लामो समयसम्मको लकडाउन र कोरोना महामारीले हामी होटल व्यवसायी व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ’ होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले भने, ‘लकडाउन हटेसँगै फाट्टफुट्ट ग्राहक आउन थालेका थिए, नगरले जारी गरेको निषेधाज्ञाले पुनः पहिलेकै अवस्थामा पु¥याउने भयो ।’ ग्राहक आउने समयमा नै निषेधाज्ञा गरेको दंगाल बताउँछन् । होटल नचल्दा व्यवसायीले घर भाडासम्म तिर्न नसकेको उनको गुनासो छ ।


बजार र पसल मात्र बन्द गरेर कोरोना नियन्त्रण गर्न नसक्ने उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ बताउँछन् । कोरोना परीक्षणको शुल्क लिन थालेसँगै सबै नागरिकको पहुँचमा परीक्षण पुग्न नसकेको उनको भनाइ छ । नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेर परीक्षणको दायरा बढाउनु पर्ने साथै चाँडै कोरोना हस्पिटल सञ्चालनमा ल्याउनु पर्ने उनको माग छ ।


छिमेकी पालिका खुला रहेकाले पनि निषेधाज्ञा कार्यान्वयनमा समस्या परेको देखिन्छ । जनस्तरबाट पूर्णरुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि मुख्य राजमार्गसँग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कारणले गर्दा तोकिएको समयमा निषेधाज्ञा कार्यान्वयन हुन सकेको छैन । दमक नगरपालिकाले बेलडागीमा निर्माणाधिन अक्सिजनसहितको ३० बेडको कोभिड अस्पताल आगामी आइतबारसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्