बिर्तामोड , कात्तिक २३ । एक्लाएक्लै र एकअर्काको विपरित भएर जातीय आन्दोलन गर्दा पार नलागेपछि अन्ततः लिम्बुवान र कोचिला एक भएका छन् ।

पूर्वी नेपालमा आ–आफ्नो जातीय प्रान्तको लागि लागि लडेर थाकेका लिम्बुवान र कोचिलाले अब मोर्चा बनाएर आन्दोलन गर्ने भएका हुन् । तीन वर्ष लामो छलफलपछि संघीय लिम्बुवान पार्टी र कोचिला एकता मोर्चाले बहुलराष्ट्रिय मोर्चा निर्माण गरेका हुन् । आज बिर्तामोडमा एक कार्यक्रम गरीे पहिलो पटक त्यस मोर्चालाई सार्वजनिक गरिएको हो । दुईतिहाईको कम्युनिष्ट सरकारले देशमा परिवर्तनको आभास दिन नसकेपछि लामो छलफल गरेर अन्ततः आदिवासीहरुको एउटा मोर्चा बनाउने निश्कर्ष निकाल्दै बहुलराष्ट्रिय मोर्चा गठन गरिएको संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङवाले बताए । अबको विकल्प पार्टी र नेता हुन नसक्ने भन्दै उनले अबको विकल्प विचार हुने बताए ।‘ आदिबासीवादको रुपमा मोर्चालाई अगाडि ल्याएका छौं’ उनले भने । मोर्चाले १३ बुँदे अबधारणा पत्र सार्वजनिक गरेको छ । नेपाली समाजको प्रमुख अन्तर विरोध तथा समस्याहरु ,नेपालको संविधान , राष्ट्रिय मुक्ति आन्दोलनको समीक्षा, नेपाली समाज व्यवस्था रुपान्तरणका विचार तथा सिद्धान्तहरु , बहुल राष्ट्रवाद ,सामुदायिक समाजवाद , राज्यको नयाँ संरचना , बहुलराष्ट्रिय परिसंघ ,निर्वाचन प्रणाली , महिलासम्बन्धी व्यवस्था , राष्ट्रिय मुक्ति क्रान्तिको स्वरुप , क्रान्तिको चरण , क्रान्तिको अभिन्न अंगको रुपमा वैकल्पिक सत्ता निर्माण र अभ्यासजस्ता विषय अवधारणा पत्रमा समेटिएका छन् ।

प्रस्तुत अवधारणापत्रमाथि बुद्धिजीविहरु भीम इजम र देशु वनेमले टिप्पणी गरेका थिए । कोचिला एकता मोर्चाका संयोजक दिनेश राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार खम्बु , आरबी पालुङवा , डिकबहादुर राजवंशी , मित्र लिङदेन, पर्शुराम राजवंशी , कर्ण राजवंशी लगायतको सहभागिता रहेको थियो । संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष भीम खत्रीले स्वागत गरेको कार्यक्रमको संचालन लासिम पालुङवाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्