झापा , मंसिर ६ । लक्जमवर्गमा आयोजित‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ को विजेता मुक्तिनाथ विकास बैंक भएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १–१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कारवापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरुमध्ये ११८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने यो क्षेत्रमा रु. १७ अर्बभन्दा बढी लगानीमा रहेको प्रमुख सूचना अधिकारी गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्