झापा , मंसिर ६ । झापाका १० वटा स्थानीय तहमा यही मंसिर १५ गते एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ मंसिर १५ गते गर्न झापाका १० सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको हो ।
कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शैय्याको अस्पताल निर्माणका सूचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ । यो चरणमा झापा जिल्लाका ५ नगरपालिका र ५ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीलाई १५ शैंय्याको अस्पताल बनाउनका लागि १ लाख , गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकीमा १५ शैय्याका लागि १ लाख , कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० , मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ४२ हजार ८०० , शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार , झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीमा १० शैय्याका लागि ८५ हजार ,कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४२ हजार ८०० , गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याका लागि ३२ हजार ३३० , र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याका लागि ४० हजार २०० रुपैयाँ छुट्याइएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले बेहोर्ने व्यवस्था गरेको छ ।

हल्दिबारीमा ठाउँको विवाद
हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट विनियोजन भएर आइसकेको छ । तर, हल्दिबारी १ को गोलधापमा रहेको गोलधाप स्वास्थ्य चौकी सबैका लागि पायक नभएको भन्दै त्यहाँ अस्पताल बनाउन नहुने गाउँपालिकाबासीहरुले बताएका छन् । जलथल स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नति गर्दा सबैलाई पायक र सजिलो हुने गाउँपालिका उपाध्यक्ष डम्बर गिरी बताउँछन् । ‘गत वर्ष हामीले स्वास्थ्य विभागमा जलथल स्वास्थ्य चौकीलाई अस्पताल बनाउनु पर्छ भनेर माग गरेका थियौं ’उपाध्यक्ष गिरीले भने ,‘निर्णय भइसकेको अबस्थामा बजेट अर्कै ठाउँका लागि आयो ।’ त्यस विषयमा छलफल गर्न भोलि कार्यपालिकाको बैठक बोलाइएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्