झापा, मंसिर १४ । झापा अर्जुनधाराका किसानहरुले सामूहिक रुपमा करिब एक वर्ष अघिदेखि व्यावसायिक पान खेती शुरु गरेका छन् ।

अर्जुनधारा १० का ८ जना किसानहरुले श्रीकालिस्थान कृषक समूह गठन गरी करिब एक वर्ष अघिदेखि कालि बंगला जाजी जातको व्यावसायिक रुपमा पान खेती शुरु गरेका हुन् ।
भारतको कोलकात्तास्थित कागदिपवाट बिरुवा र प्राविधिक ल्याएर एसियाकै दोश्रो जातको रुपमा परिचित कालि बंगला जाजी पानको खेती जिल्लामै मात्र नभई संभवत नेपालमा नै पहिलो र व्यावसायिक रुपमा नमुना खेती शुरु गरिएको किसानहरुको दावी छ । समूहमा आबद्ध किसान दिनबन्धु पोख्रेलका अनुसार पान खेतीका लागि ५ कठ्ठा जमिन प्रतिकठ्ठा बार्षिक ३ हजार रुपैयाँ भाडामा लिएर समूहमार्फत पान खेती शुरु गरिएको हो । प्रारिम्भक चरणमा किसानले पान बगानमा हाल ८ हजार बिरुवा लगाएका छन् ।

प्रतिकठ्ठा ५ हजारदेखि ५५ सयसम्म बिरुवा आवश्यक पर्ने भएपनि हाल यो बगानमा उपयुक्त बिरुवाको अभाव हुँदा ८ हजार मात्र बिरुवा रोपिएको उनले बताए । पान बगानले अहिले स्थानीय दुई जना युवालाई रोजगारी समेत प्रदान गर्दै आएको छ ।
सानो ठाउँमा पनि पानको खेती गर्दा ठूलो लगानी चाहिने भएकाले समूहमार्र्फत यसको खेती शुरु गरिएको किसानहरुको भनाई छ । काली बंगला जाजी हाईब्रेड जातको पान भएकाले यसको स्वाद पनि मिठो र बजारमा माग समेत अधिक रहेकाले यसको व्यावसायिक खेती थालिएको पोखरेलले बताए ।

स्थानीय किसान त्रिलोचन खरेलका अनुसार करिब एक दशक अघिबाट गाछी र डण्ठी जातको पान खेती शुरु गरेको भएपनि विगत ३ बर्षदेखि यो जात भित्र्याएर पारिवारिक रुपमा आफनै निजी तीन कठ्ठा जमिनमा यसको खेती गरिदै आएको छ । आफ्नै बगानमा बिरुवा उत्पादन भएपछि करिब एक बर्षयता भने सामूहिक रुपमा यसको खेती शुरु गरिएको खरेलले बताए ।
जाजी जातको पानको पता व्यापारीहरुले भारतवाट आयात गर्दै आएका छन् । भारतवाट आयात गर्दा खर्चिलोसंगै गुणस्तर समेत नहुने भएकाले पनि यहाँका किसानहरुले केही बर्षयता आफ्नै ठाउँमा पान खेती शुरु गर्दै आएको अर्का स्थानीय किसान सुवास खरेल बताउँछन् । पानका लागि नेपाल पूर्णरुपमा परनिर्भर रहेकाले आयातित विदेशी पानलाई प्रतिस्थापन गर्नु पनि आफनो मु्ख्य उद्देश्य रहेको उनको भनाई छ ।

नेपाली बजारमा प्रत्येक वर्ष कति पानको पात आयात हुन्छ भन्ने आधिकारिक तथ्यांक नभएपनि ठूलो परिमाणमा यसको व्यापार हुँदै आएको छ ।
किसान खरेलका अनुसार झापाका मुख्य बजार बिर्तामोड र दमकमा मात्र प्रतिहप्ता करिब एक लाख पानको पत्ता भित्रिने गरेको अनुमान छ । गाछपान, डाठपान हुँदै अहिले झापाका किसानले कालीबंगाला जातको जाजी पानको नमूना खेती समूहमार्फत थालेका हुन् । बगानबाट मासिक रुपमा प्रतिकठ्ठा बीस हजार पानको पात उत्पादन हुने गरेको छ । बजारको माग अनुसार प्रतिपता २ रुपैयाँदेखि ४ रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

पान खेतीबाट बहुबर्षिय बालीको रुपमा राम्रो आम्दानी लिन सकिने किसान खरेलको बुझाई छ । लामो समयदेखि पान खेतीमा लाग्दै आएका किसानहरुको अनुभवले नेपालमा पान खेतीको संभावना प्रशस्त रहेको छ । पान खेतीका लागि उत्तिकै श्रम र सीप आवश्यक पर्दछ । पान खेतीका लागि थोरै मात्र प्राविधिक ज्ञान लिन सके यसको खेती सहजै गर्न सकिने किसान क्षितिज दास बताउँछन् ।

पानको पात चपाउनको लागि प्रचलित छ । हाल ६४ जातका पानको खेती भारतमा लगाइदै आएको छ । त्यसमा पनि ३० वटा पानका जातहरु भने पश्चिम बंगालमा रहेको पाइन्छ । पानलाई पूर्वीय दर्शन र कुल परम्परा अनुसार शुभ तथा अशुभ कार्यमा पनि आवश्यक मानिन्छ ।
पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उतिकै रहेको छ । पानको पातलाई मानिसको सौन्दर्यसंग जोडेर पनि वर्णन गर्ने गरिएको छ । आयुर्वेद चिकित्साले पानमा १ सय ५ गुण हुने उल्लेख गरिएको छ । पान रुघाखोकी, सर्दी र रक्त विकारको निदानका लागि पनि उत्तम मानिन्छ । आयुर्वेदमा पानलाई रक्तवद्र्धक, कफनाशक, बलवद्र्धक र रुचिकारक वस्तुका रुपमा हेरिएको छ । नेपाल, भारत लगायत देशका नागरिकमा पान खाने चलन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्