विमल दहाल,
माई इलाम , मंसिर १७ । इलामको माई नगरपालिका वडा नम्बर–६ मा आधारभूत स्वास्थ्य केन्द्रको एक कार्यक्रमकाबीच बुधबार नगर प्रमुख दिपककुमार थेबेले उद्घाटन गरेका छन् ।

स्थानीय सरकारको लागत साझेदारीमा निर्माण भएको ३ कोठे आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख थेबेले “सम्पन्न नेपाली समृद्धि नेपालको परिकल्पना” पूरा गर्न स्वास्थ्य राम्रो हुनुपर्ने बताए । माईका नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्दै सबै वडामा स्वास्थ्य केन्द्र निर्माण गरी सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । नगर प्रमुख थेबेले स्वास्थ्य र शिक्षा पहिलो आबश्यक्ता भएको भन्दै सबै नागरिकलाई असल शिक्षासहित सरकारले सञ्चालन गरेको स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवा लिन अनुरोध गरे । नागरिकहरुलाई बाहिरी पसलबाट आफूखुशी औषधी नखान आग्रह गर्दै स्थानीय सरकारले सबै नागरिकको स्वास्थ्यको ख्याल गर्दै मेडिकल अधिकृतसहितको नगर आधारभूत अस्पताल शुरु गरेको जानकारी दिए ।

स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बिशेष अतिथि उपप्रमुख बिष्णुमाया आचार्यले नगरको सोच,चाहना र भावनाअनुरुप सबै वडामा स्वास्थ्य सेवा शुरु गरिएको बताइन् । जनचाहनाको आधारभूत आबश्यक्ता पूरा गर्न नगर लागिरहने उपप्रमुख आचार्यले बताइन् ।
वडा अध्यक्ष मुखराज आङ्दम्बेले माई–६ का नागरिकको स्वास्थ्य क्षेत्रमा एउटा अपेक्षा पूरा भएको ऐतिहासिक दिन आज भएको भन्दै आधारभूत स्वास्थ्य केन्द्र निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिए । स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले माई–६ सहित १, ३, ४, ८ र १० नम्बर वडामा यसै आर्थिक बर्षबाट आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन शुरु गरिएको बताए । स्वास्थ्य निरीक्षक कट्टेलले वडा नम्बर ५ मा सामुदायिक स्वास्थ्य केन्द्र तथा वडा नम्बर २, ७ र ९ मा स्वास्थ्य चौकी र नगर अस्पताल माई–२ मा रहेकाले अव सबै नागरिकको पहँुच स्वास्थ्य संस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा दश लाख मुल्य बराबरको एक रोपनी जग्गा दान गर्ने स्थानीय शर्मिला लावती सुब्बालाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष आङ्दम्बेको अध्यक्षता तथा स्वास्थ्य निरीक्षक कट्टेलको सञ्चालन रहेको भवन उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार थेगुवा, लेखा अधिकृत क्षेत्रनाथ शर्मा, करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्