मनिषा चम्लागाईँ
दमक, मंसिर २४ । कोरोनाले पूर्वाधार निर्माण, पर्यटन क्षेत्र, वैदेशिक व्यापारमा यसको गम्भीर असर देखा प¥यो । कोरोनाको प्रभाव अझै पनि कायम नै छ । कोरोना कहरले झापामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको काममा सुस्तता ल्याएको छ । सरकारले अर्बौँ रकम खर्चेका यी आयोजनाको निर्माण जति छिटो सकिन्थ्यो, अर्थतन्त्रले उति नै गुणात्मक लाभको सिर्जना गर्न सक्थ्यो । झापा क्षेत्र नम्बर –५ को दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । दमकमा अर्बौँ लगानीका आधा दर्जनबढी विकासका परियोजना सञ्चालनमा छन् ।


ओली प्रथम पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरेका थिए । सोही अनुरुप दमकमा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर), अन्तराष्ट्रिय स्तरको सभागृह, औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणधीन छन् । मूलुकले नै गौरब गर्न लायक केही परियोजना निर्माणमा कोरोना कहरले गग्भीर असर पु¥याएको छ ।


प्रधानमन्त्री ओलीको परिकल्पनामा दमक नगरपालिका –३मा भ्यूटावर निर्माण शुरु भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ अढाई वर्षे योजना हो । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका अनुसार ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा उक्त टावर निर्माणको काम सक्नुपर्ने छ । भ्यूटावर १ सय मिटर अग्लो र १८ तले बन्ने छ । भ्यूटावर वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको हो । अहिले भ्यूटावरको जगको काम भइरहेको छ । चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् ।

कोरोना कहरका कारण भ्यूटावरको निर्माण ढिला भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारी बताउँछन् । “कोरोनाका कारण निर्माण कार्य प्रभावित बन्न पुग्यो” बिडारी भन्छन्, “चैत १४ गतेदेखि १ महिना त काम नै ठप्प भयो, त्यसपश्चात् भारतीय कामदार भारत फर्के ।” तत्काल भारतीय कामदार फर्काउन नसकिने भएकाले नेपाली कामदारबाटै काम शुरु गरिएको बिडारी बताउँछन् । १ महिनापछि काम शुरु गरेपनि कच्चा पदार्थ अभाव, र कामदार अभावले कामलाई पहिलेकै गतिमा लान नसकेको निर्माण कम्पनीले जनाएको छ । हाल दैनिक १ सय ५० श्रमिक निर्माणमा खटिइरहेका छन् । “असोजसम्म पहिलो तला निर्माण गर्ने योजना थियो” बिडारी भन्छन्, “कोरोना महामारीले थप केही महिनापछि मात्र पहिलो तला सम्पन्न हुने देखिन्छ ।”

सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको उच्चस्तरीय टोलीले मंसिरमा भ्यूटावर निर्माणको अनुगमन गरेको छ । निर्माणस्थलको निरीक्षणपश्चात् मन्त्री श्रेष्ठले सम्झौतामा तोकिएको अवधिभित्रै भ्यूटावरको निर्माण सक्न निर्देशन दिएका थिए । “राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा काम सक्नुहोस्” निर्माण कम्पनीलाई, मन्त्री श्रेष्ठले भने । सोही कार्यक्रममा निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौतामा तोकिएको अवधिमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
दमक नगरपालिका– ९मा ‘दमक सभागृह’ निर्माणको काम ७५ प्रतिशत पुगेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका अनुसार ०७४ असार २० मा भएको ठेक्का सम्झौताअनुसार ०७७ असार २५ मा उक्त सभागृह निर्माणको काम सक्नुपर्ने हो । निर्माण कम्पनीले कोरोना कहरले गर्दा समयमा नै काम सक्न समस्या भएको भन्दै १५ महिना म्याद थप गरेको छ । जसअनुसार असार २०७८ साल असोजमा दमक सभागृहको निर्माण सम्पन्न हुने सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ । सभागृह निर्माणको ठेक्का डाँफे एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले लिएको छ ।

प्रदेश १– कै ठूलो भनिएको सभागृह १ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । संघीय सरकारको ३२ करोड २२ लाख ७ हजार २ सय २६ रुपैयाँ लगानीमा उक्त सभागृह निर्माण भएको हो । २ वटा हल रहेको सभागृहमा एउटा हलमा १५ सय जना र अर्को ३ सय जना अटाउने क्षमताको रहेको छ । “मुख्य काम भइरहेको समयमा कोरोना कहरले गर्दा लकडाउन भयो, लकडाउनको असर असारसम्म प¥यो” सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवले भने “कामदारहरु भारत फर्के, पीसीआर गरेर ल्याउन झन्झट हुने भएकाले नेपाली कामदार नै लगायौँ अहिले काम भइरहेको छ ।” नेपाली कामदारलाई काम सिकाउन पनि समय लागेको यादव बताउँछन् । लकडाउनले काम पछि धकेलेको उनले बताए । अहिले सभागृह ‘फिनिसिङ’को काम भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्