राजगढ, मंसिर २४ । आफ्नै गाउँठाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले झापा बाह्रदशी ५ का एक युवाले डेढ करोड रुपैयाँको लगानीमा रिसोर्ट खोलेका छन् ।

पूर्वी नेपालमा पर्यटन व्यवसायको राम्रो संभावना हुँदाहुँदै पछाडि परेको कुरालाई मनन गरी ४३ वर्षिय मनोहरि सुवेदीले एकल लगानीमा कन्ट्री ओसिस ट्रेकिङ एजेन्सी एण्ड भिलेज रिसोर्ट संचालनमा ल्याएका हुन् ।
पूर्व पश्चिम राजमार्गको चारपाने चोकदेखि ९.२ किलोमिटर दक्षिण , मुक्तिचोकबाट गोलधाप हुँदै १४ किलोमिटर पश्चिम र भद्रपुर विमानस्थलबाट हल्दिबारी हुँदै १४ किलोमिटर पश्चिम शान्त र एकान्त ठाउँमा सो रिसोर्ट खोलिएको हो । बाह्रदशी ५ र हल्दिबारी १ को सिमाना सिर्जना चोकमा अबस्थित करिव ७ कठ्ठा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ५ वटा एसी–नन एसी कोठा , ३ सय जना अट्ने पार्टी हल , रेष्टुरेन्टलगायतका सुविधाहरु रहेको संचालक सुवेदीले बताए । उनले आफ्नो रिसोर्टमा गाउँले परिवेशमा आधुनिक सुविधा उपलब्ध रहेको जानकारी दिए । ‘करिव ९० प्रतिशत नेपाली जनता शहरमुखी भएको अबस्थामा पछि परेको गाउँको सामाजिक र आर्थिक विकासको लागि आफ्नो गाउँमै केही गरुँजस्तो लाग्यो’उनले भने । सुवेदीले अंशमा पाएको २ विगाह जग्गामध्ये ७ कठ्ठामा रिसोर्ट खोलेका हुन् ।

गत वर्षको असोजमा उनले आफ्नो रिसोर्ट उद्घाटन गरेका थिए ।तर, रिसोर्ट खोलेको केही महिनामै कोरोना महामारी र लकडाउनका कारण उनको व्यवसाय प्रभावित बन्यो । अब लकडाउन हटेसँगै रिसोर्टमा पर्यटकहरु विस्तारै आउन थालेको उनी बताउँछन् । रिसोर्ट संचालनसँगै उनले ट्रेकिङको सुविधा पनि राखेका छन् । बिशेषगरी इलामको सन्दकपुर जान चाहनेका लागि ट्रेकिङको सुविधा उपलब्ध भएको बताउने उनले आफूसँग नेपालका विभिन्न स्थानको टुर प्याकेज पनि रहेको जानकारी दिए । ‘ पहिलो सिजनमा ४ वटा ट्रेकिङको बुकिङ थियो, लकडाउनले प्रभावित भयो ’उनले भने, ‘ भर्खरै इन्क्वायरी आएको छ तर बुकिङ चाहिँ भएको छैन ।’

भारतको दार्जिलिङमा अध्ययन गरेका सुवेदीले काठमाडौंको गोठाटारमा १७ वर्ष शिक्षण पेशा गरेका थिए । २१ वर्षको शिक्षण पेशालाई छोडेर उनी पर्यटन व्यवसायमा होमिएका हुन् ।‘ दार्जिलिङको परिवेशमा अध्ययन गरेकाले मलाई सानैदेखि यो क्षेत्रमा आउने रहर थियो’ उनले भने ,‘ पोखराका थ्रीसिस्टर्स ट्रेकिङ एण्ड एड्भेन्चरबाट म इन्स्पायर भएको हुँ ।’ आफ्नै गाइड राखेका सुवेदीको महिला ट्रेकिङ गाइड उत्पादन गर्ने भावी योजना छ । टुरमा भने उनी आफै जाने गर्छन् । लोकल कुखुरा , हाँस, माछाजस्ता शहरमा पाउने सबै किसिमका परिकार आफ्नो रिसोर्टमा उपलब्ध रहेको बताउँदै उनले खाडी खनेर पर्यटकहरुलाई फिसिङको सुविधा दिने र मारेको माछा पकाएर खुवाउने योजना रहेको सुनाए । स्थानीय जातजातिको संस्कार संस्कृतिलाई नजिकबाट नियालेका उनले आफ्नो रिसोर्टको माध्यमबाट राजवंशी , सन्थाललगायतका समुदायको संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रिय गर्ने सोच पनि रहेको जानकारी दिएका छन् ।
साथी हजुरको यस्ता बहुमूल्य योजनाहरु अझ धेरै फूल्दै फल्दै जाऊन्। आजको उपलब्धिको निमित्त आन्तरिक हृदयबाट हार्दिक बधाई तथा हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु।