झापा , मंसिर २४ । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक र शिवसताक्षीका एक–एक जना पुरुष रहेका छन् । हिजो दिउँसो ३ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ८६ वर्षीय कोरोना संक्रमित वृद्धको बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । मंसिर १८ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या शिवसताक्षीमा १० पुगेको छ । त्यस्तै दमकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ३ का ४१ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । उनलाई गत कात्तिक २३ गते संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ३४ र झापामा ११९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा झापाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु ७ जना महिला र १६ जना पुरुष छन् । दमकका १ महिला र ६ पुरुष, कमल गाउँपालिकाका १ महिला र ४ पुरुष, भद्रपुरका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।यसैगरी, मेचीनगरका १ महिला र १ पुरुष, बिर्तामोडका २ पुरुष, अर्जुनधाराकी १ महिला, बुद्धशान्ति र बाह्रदशी गाउँपालिकाका समान १–१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म ४ हजार २३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार ९३ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्