सपना आचार्य,
माई । इलामको माई नगरपालिका वडा नं ९ र १० स्थित लोदिया खोलामा निर्माणाधीन ८५.०० मिटर लम्बाई भएको साल्टे झोलुङ्गे पुलको लठ्ठा झुलाउने र मिलाउने कार्य सम्पन्न भएको छ ।

संघीय सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत माई नगरपालिकामार्फत संचालित उक्त आयोजना उपभोक्ता समितिबाट निर्माणाधीन छ भने आयोजनाको प्राविधिक तथा सामाजिक रुपमा सुनगाभा विकास संस्था ईलामले सुपरीवेक्षण गर्दै आएको छ ।


कुल लागत ४२ लाख २५ हजार ५ सय २६ रुपैयाँ रहेको यस आयोजनाको लागि संघीय सरकारबाट ९२ प्रतिशत सशर्त अनुदान, माई नगरपालिकाको आन्तरिक कोषबाट ६ प्रतिशत र बाँकी २ प्रतिशत उपभोक्ता समितिबाट श्रमदान व्यहोर्ने गरी २०७६ पुस १ गते सम्झौता भई निर्माण कार्य भईरहेको नगरपालिकाका निमित्त लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । सम्झौता भएको मितिले १८ महिनाभित्रमा सम्पन्न गरिसक्नु पर्ने भएपनि सम्झौता मिति अघि नै सम्पूर्ण कार्य सम्पन्न भई ढोडेनी, साजबोटे, बेलडाँडा तथा मगर गाउँका विद्यार्थीहरुलाई विद्यालय र आमउपभोक्तालाई हाटबजार , स्वास्थ्य चौकी आउन जान समेत सहज हुने उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर राईले बताए ।
यस आयोजनाको लागि आवश्यक स्टील पार्टस् लगायतका सामग्री नगरपालिकाबाट खरिद भई अघिल्लो आर्थिक वर्षमा नै उपभोक्ता समितिलाई हस्तान्तरण भईसकेको हुनाले मौसम प्रतिकुल नभएको खण्डमा अबको ४ हप्ताभित्रमा पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई आवागमन शुरु हुने सुनगाभा विकास संस्थाका प्राविधिक तथा साईट ईन्चार्ज रोशन सुब्बाले जानकारी दिएका छन् ।

हाल ईलाम जिल्लामा प्रदेश सरकारमार्फत ३ वटा तथा संघीय सरकारअन्तर्गत सम्बन्धित गाउँपालिका र नगरपालिकाहरुमा ७ वटा गरी जम्मा १० वटा झोलुंगे पुलहरु फाकफोकथुम, माईजोगमाई, सन्दकपुर , चुलाचुली, रोङ, सूर्याेदय, माई, देउमाई लगायतका स्थानीय तहका विभिन्न वडाहरुमा निर्माणाधीन अवस्थामा रहेका छन् । ती आयोजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने सुनगाभा विकास संस्था, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका कार्यक्रम संयोजक दिवस घिमिरेले जानकारी दिए ।

सुनगाभा विकास संस्थाले ईलाम जिल्लामा वि.सं. २०६२ सालदेखि १०४ वटा भन्दाबढी झोलुङ्गे पुल निर्माण गरिसकेको छ । त्यस्तै आगामी आ.व. का लागि जिल्लाभर ११ वटा झोलुङ्गे पुलहरुको माग भई प्रक्रियामा रहेको संयोजक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्