झापा, मंसिर २७ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो साँझ गरिएको पिसिआर परीक्षणमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री सिटौलालाई कोरोना पोजिटिभ देखिएको हो । हल्का खोकी लागेपछि शंका लागेर उनले पिसिआर परीक्षण गराएका थिए । अहिले उनको अबस्था सामान्य रहेको काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले बताए । नेता सिटौलाले काठमाडौंको चण्डौलस्थित डेरामा आराम गरिरहेको पोखरेलले जानकारी दिए । मंसिर २९ गते पार्टीको देशव्यापी प्रदर्शनका लागि उनको धनुषा जाने कार्यक्रम रहेको थियो । धनुषा जानकै लागि उनले पिसिआर परीक्षण गराएका थिए । अब पोजिटिभ देखिएपछि उनले देशव्यापी कार्यक्रममा सहभागिता जनाउन नपाउने भएका छन् । सिटौलाले आफ्नो फेसबुक पेजमा पनि आफूलाई संक्रमण भएको लेखेका छन् । पछिल्ला केही दिनयता आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र सचेत हुन उनको आग्रह छ । सिटौलालाई संक्रमण देखिएपछि उनको परिवारका सदस्यहरुको पनि पिसिआर परीक्षण गर्न लागिएको पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्